Aama Ghar

युकेस्थित नेपलिज बिजनेस डिरेक्टरीद्वारा गोफण्डमीमार्फत करिब २७ लाख रुपैयाँ राहत संकलन, जेनजी आन्लाेदन घाइतेलाई वितरणा

Nepal UK

Nepal UK

Sat, 15 November 2025
युकेस्थित नेपलिज बिजनेस डिरेक्टरीद्वारा गोफण्डमीमार्फत करिब २७ लाख रुपैयाँ राहत संकलन, जेनजी आन्लाेदन घाइतेलाई वितरणा


बेलायत — युकेस्थित नेपलिज बिजनेस डिरेक्टरी (NBD) को पहलमा “गोफण्डमी राहत कोष” मार्फत करिब रू. २७ लाख (झण्डै £१५,०००) बराबरको सहयोग संकलन गरिएको छ। यो अभियान सफल बनाउन युकेभरका नेपाली डायस्पोरा समुदायको उदार सहयोगले महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले जनाएका छन्।
‘गोफण्डमी राहत कोष अपडेट’ अनुसार, जम्मा रू. २९ लाख संकलन भएकोमा गोफण्डमी शुल्क कटाएपछि अन्तिम उपलब्ध रकम रू. २७ लाख रहेको छ। नेपालमा राहत कार्यको समन्वय १ क्लब नेपाल (1ClubNepal) मार्फत भइरहेको छ भने वितरणको जिम्मेवारी नेपलिज बिजनेस डिरेक्टरी ले लिएको छ।
फिल्ड टिमका सदस्यहरू सुजिना महर्जन, सुदिना महर्जन र रोमन राई हाल हामी नेपाल (Hami Nepal) टिमसँग मिलेर Gen-Z आन्दोलनका पीडित र तिनका परिवारहरूलाई राहत वितरणमा सक्रिय छन्।
नेपलिज बिजनेस डिरेक्टरी र १ क्लब नेपालका सह-संस्थापक सनिश ज्वारचन र महेश बुढा मगरले भने, “विदेशमा बस्दा पनि मातृभूमिप्रतिको जिम्मेवारी हराउँदैन। नेपाललाई जब आवश्यकता पर्छ, हामी सधैं सहयोगका लागि तत्पर रहन्छौं।”
कार्यक्रम संयोजक ज्वारचनका अनुसार, हालसम्म करिब रू. १० लाख (झण्डै £५,०००) बराबरको राहत वितरण भइसकेको छ र बाँकी रकम चरणबद्ध रूपमा वितरण भइरहेको छ।
नेपलिज बिजनेस डिरेक्टरीले यस अभियानमा साथ र सहयोग गर्ने सबै दाताहरूप्रति हृदयपूर्वक धन्यवाद व्यक्त गरेको छ।