Nepal UK
लण्डन - यूकेमा अध्ययनका लागो आएका एक नेपाली विद्यार्थीले बेलायतमा बसोबास गर्ने दुइ नेपालीले आफूलाई अवैध 'कन्फरमेशन अफ एक्सेप्टेन्स फर स्टडिज (कास) बेचेर ठगी गरेको गम्भीर आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै घटनाको विस्तृत जानकारी दिएका हुन्।
पीडितका अनुसार 'केयर होम जब' सहित स्पन्सरशिप मिलाइदिन्छु भन्दै बर्मिङ्घममा रहेको एक कम्पनीको म्यानेजर हुँ भन्दै एक नेपाली र उनका साथीले रकम लिएका थिए । प्लम्स्टेडमा बस्ने एक जना र वेलिंगमा बस्ने अर्को एक जनाले उक्त कम्पनीको कर्मचारी हौँ भन्दै उनलाई सम्पर्क गरेका थिए।
गत जुलाई महिनामा ती व्यक्तिहरूले बैंक ट्रान्सफर गरेर रकम पठाउन लगाए र उनलाई 'कास' पठाइ दिए । तर, पछि सो 'कास' अवैध रहेको पुष्टि भएपछि उनले आफुले दिएको रकम फिर्ता गर्न माग गरे।
पीडितले धेरैपटक रकम फिर्ता गर्न आग्रह गरे पनि आरोपितहरूले २–४ दिनमै पैसा फिर्ता गर्ने भन्दै बहाना बनाइरहे। हाल उनीहरूले उल्टै आफुलाई धम्की दिन थालेको पीडितले दाबी गरेका छन्।
नेपाल युके डटकमसंग कुरा गर्दै एनआरएनए युकेका प्रवक्ता डा कुल प्रसाद कंडेलले अहिले युकेमा स्पन्सरशिप निकाली दिन्छु भन्दै ठगी गर्ने घटनाहरु निकै बढेको बताए। उनले त्यस्ता ठगी धन्दा गर्ने व्यक्ति हरु लाई विश्वास नगर्न र कुनै कारण वस रकम हस्तान्तरण गरि सकेको भए सप्रमाण तत्काल प्रहरी मा उजुरी दिन सुझाव दिए। "यसरी ठगी मा परेका नेपाली समुदायका व्यक्तिलाई हरसम्भव सहयोग गर्न हामी तयार छौं," उनले भने।
युकेमा कुनै पनि फ्रड वा साइबर क्राइमको बारेमा 0300 123 2040 नम्बरमा फोन गरेर वा 7726 मा टेक्स्ट मेसेज पठाएर पनि जानकारी गराउन सकिन्छ।