Aama Ghar

युएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाई दिने भन्दै ठगी गर्ने कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ

Nepal UK

Nepal UK

Thu, 15 January 2026
युएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाई दिने भन्दै ठगी गर्ने कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ

काठमाडौं – युएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाई दिने भन्दै रकम लिई ठगी गर्ने कन्सन्टेल्सीका संचालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेस्ट पाथ एजुकेशनका कृष्ण थापा, मर्सी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन, सिटीहब एजुकेशन नेटवर्कका सुबाश सिलवाल क्षेत्री, कान्तिपुर एब्रन्ड कन्सल्टेन्टका प्रेम राज भट्ट र कान्तिपुर एब्रोड कन्सल्टेन्टका दामोदर ढकाल रहेका छन्। 

उनीहरूले काठमाडौंस्थित विभिन्न स्थानमा कार्यालय सञ्चालन गरी नेपालका विभिन्न विद्यार्थीहरूलाई उच्च शिक्षा हासिलका लागि फ्रान्स तथा अस्ट्रेलिया लगायत मुलुकका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त युएईमा रहेका कलेजमा क्रेडिट ट्रान्सफर समेत हुने शैक्षिक पाठ्यक्रम अध्ययनको लागि भनी झुक्यानमा राखी ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूले युएईका सबै शैक्षिक संस्थाहरुलाई अनुमति दिने उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय मोहसर र  शैक्षिक मान्यता आयोग (सीएए) बाट समेत स्वीकृति नलिएको प्रशिक्षण संस्थानहरूमा लगी प्रति व्यक्ति ८ देखि २२ लाख रकम लिएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) जनाएको छ। 

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४, ठगी सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनीहरूलाई हालसम्म १३ जनाले दिएको दिएको जाहेरी दरखास्तको आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको हो। उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ।