Nepal UK
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व प्रदान गरेका घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।”
मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।
नयाँ राजनीतिक जीवन सुरु
मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, 'भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ ।' उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे
घिसिङले आफू कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको भए पनि अब औपचारिक रूपमा रास्वपासँगको सहकार्यमा अघि बढ्ने संकेत गरे । उनले आफ्नो ‘उज्यालो नेपाल अभियान’ लाई राजनीतिक रूपमा थप सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिने घोषणा गरे ।
घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।