Aama Ghar

तराई-मधेसमा खानेपानी समस्या समाधान गर्न समिति गठन

Nepal UK

Nepal UK

Wed, 23 July 2025
तराई-मधेसमा खानेपानी समस्या समाधान गर्न समिति गठन

काठमाडौँ — खानेपानी मन्त्रालयमातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेसमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन गरी स्थलगत अनुगमन थालेको छ ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा दुईवटा छुट्टाछुट्टै समिति गठन गरिएको विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, 'समस्या समाधान गर्न समिति गठन गरी आजै परिचालन गरेका छौँ । समितिले १० दिनभित्र अनुगमन प्रतिवेदन तयार गरी विभागमा पेस गर्नेछ ।' आयोजना निर्देशक आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) मिहिरचन्द्र आचार्य, जनकपुर खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इञ्जिनियर किरण विष्टलाई सदस्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको केन्द्रीय खानेपानी आयोजनाका ई सुधिरकुमार साहलाई सदस्यसचिव तोकिएको छ ।

त्यसैगरी, उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा गठित समितिमा वीरगञ्ज खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख विपुलकुमार लाल दास, इञ्जिनियर प्रदीपकुमार साह सदस्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) चन्द्रकुमार श्रेष्ठलाई सदस्यसचिव तोकिएको विभागले जनाएको छ ।

दुवै समितिलाई सम्बन्धित जिल्लामा स्थलगत अध्ययन, अनुगमन, विश्लेषण गरी खानेपानी समस्या समाधान गर्न आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्न भनिएको छ ।