Aama Ghar

ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत

Nepal UK

Nepal UK

Mon, 12 January 2026
ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत

काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्।

ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई लक्षित गर्दै सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोग गराउँदै सचेतना फैलाएको हो। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु र पैदलयात्रीलाई सुरक्षित बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यक्रममा ३ सय १९ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानमार्फत अन्तरक्रिया, ४२ जना टिपर चालकलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण, र ८३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको थियो।

त्यसैगरी ४ हजार ८ सय ३५ जना चालक र परिचालकसँग दुई मिनेट सचेतना कार्यक्रम, २ हजार २ सय ३४ जना दुई पाङ्ग्रे र २ हजार ९ सय ३७ जना चार पाङ्ग्रे सवारी चालकलाई विशेष सचेतना प्रदान गरिएको थियो। साथै रात्रीकालीन समयमा २ हजार ८ सय ८ जनालाई सचेतना दिइएको थियो।

सडक सुरक्षालाई थप प्रभावकारी बनाउन २ सय ७० स्थानमा सडक फर्निचर सरसफाइ, १ सय ३५ सवारी साधनलाई पिक एन्ड ड्रप व्यवस्थापनबारे जानकारी, १० हजार ६ सय १० जनालाई पर्चा–पम्प्लेट वितरण र ४ हजार ५ सय १४ वटा ट्राफिक सचेतनामूलक स्टिकर टाँस गरिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए अनुसार, सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कार विकास र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह सञ्चालन भइरहेको छ।