Sat, 21 June 2025
द हेग । भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेसन (जीबीएलओ) मा नयाँ नेतृत्व चयन भएको छ ।
द नेदरल्यान्डसको द हेगमा १३ देखि १५ जुन २०२५ सम्म भएको बृहत् अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६ का क्रममा पातले अन्तरे (अमेरिका) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ नेतृत्व २०२५ – २०२७ को निमित्त अध्यक्ष पातले अन्तरे (अमेरिका), वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल (न्यूजिल्याण्ड), महासचिव सुसन माझी (ओहायो), सचिव लक्की रासी (केन्टकी), कोषाध्यक्ष शेखर कोइराला (पेन्सिलभेनिया), सहकोषाध्यक्ष अबि न्यौपाने (ओहायो) चयन भएका छन् ।
यस्तै कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल (ओहायो), सांस्कृतिक संयोजक सरगम थपलिया (पेन्सिलभेनिया) र प्रचारप्रसार प्रमुख भिम गुरूङ (नेब्रास्का) चयन हुनुभएको छ ।
सदस्यहरूमा खडग गजमेर (नेब्रास्का), देवी राई (आईहोवा), यदु अधिकारी (ओहायो) र छत्र दंगाल (अष्ट्रेलिया) चयन भएका छन् भने बोर्ड अफ ट्रष्टीमा डेन्जोम साम्पाङ (पेन्सिलभेनिया), जय बान्तवा (जर्जिया), कर्ण गुरूङ (नेब्रास्का), प्रदिप गुरूङ (पेन्सिलभेनिया), आभाष रिखाम (पेन्सिलभेनिया) र ममता मोक्तान (पेन्सिलभेनिया) रहेको जीबीएलओले जनाएको छ ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहने छ ।
पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा प्रस्तुत भएका विभिन्न कार्यपत्रहरुमध्ये स्वीकारोक्ति सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरुबीच बृहत् चर्चा गरे । दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन, आधा दर्जन कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
यस्तै सम्मान प्रदान, कृति विमोचन, नयाँ नेतृत्व घोषणासँगै अहिलेसम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढी राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गर्ने घोषणा गर्यो । काइँलालाई निकट भविष्यमा नेरु ६ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिने भएको छ । यसअघि उक्त पुरस्कार आसामका नेपाली साहित्यकार स्व. लिलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।
तेस्रो दिन शान्ति र स्थायित्वको निमित्त स्वीकारोक्ति सिद्धान्त नाराका साथ स्वीकारोक्तिको रंग हरियो भेष्ट लगाई डेढ दर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्राङ्गणबाट साइकल यात्रा सुरु गरी सहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत, पार्लियामेन्ट लगायतका स्थानमा साईकल र्याली निकालेका थिए । सम्मेलनमा अमेरिका, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, स्लोभानिया, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल र फ्रान्सलगायत विश्वका विभिन्न १६ मुलुकबाट सहभागी थिए ।