Aama Ghar

४०० शैयाको हस्पिटल विस्तारका लागि एनपिआई नारायणीले आईपीओ ल्याउने

Nepal UK

Nepal UK

Sun, 21 December 2025
४०० शैयाको हस्पिटल विस्तारका लागि एनपिआई नारायणीले आईपीओ ल्याउने

काठमाडौँ । एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम आवश्यक नियमनकारी स्वीकृति प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने जनाएको छ । बाँकी ८० प्रतिशत शेयर संस्थापक समूहअन्तर्गत रहनेछ ।

थप सेवा विस्तारका लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल तथा क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटल सञ्चालनका लागि थप पूँजी आवश्यक पर्ने भएकाले कम्पनी सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी दिए ।

हस्पिटल सेवा तथा विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको हो । कम्पनीका अनुसार हाल यसको वार्षिक कारोबार १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने संस्थामा ४२५ भन्दा बढी कर्मचारी कार्यरत छन् ।

आज सम्पन्न सम्झौतामा एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीका तर्फबाट सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।