Nepal UK
बेलायत । बेलायतका व्यस्त शहरहरूमा आफूलाई सक्षम र नेपाली हुनमा गर्व गर्दै अव्वल बन्दै आइरहेकी एक युवती हुन् प्रकृति ढकाल ।
उनको सोच नेपालका दुर्गम भूभागसम्म फैलिएको छ । प्रकृति ढकालले केवल २७ वर्षको उमेरमै उनले सक्रियता, बौद्धिक खोज र मातृभूमिप्रतिको गहिरो प्रतिबद्धतालाई एउटै यात्रामा गाँसेकी छन् । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उनी नातावादभन्दा योग्यता, पुराना परम्पराभन्दा पारदर्शिता र राजनीतिक अन्योलको समयमा तत्काल जवाफदेहिताको पक्षमा उभिएकी छिन् । यही सोच उनको परिवर्तनको मन्त्र बनेको छ ।
चितवनमा जन्मिएकी प्रकृतिको यात्रा ज्ञान र प्रभावबाट सुरु भयो । उनले गण्डकी मेडिकल कलेजबाट मेडिकल इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर पूरा गरिन् । त्यसपछि किङ्स कलेज, नेपालबाट गैर–नाफामुखी व्यवस्थापनमा एमबीए हासिल गरिन् । अक्सफोर्ड विश्वविद्यालयबाट सिस्टम्स थिंकिङमा विशेष प्रशिक्षण लिएपछि उनको दृष्टिकोण अझ व्यापक बन्यो । व्यावसायिक यात्रामा उनले पोखरा रिसर्च सेन्टरमा झण्डै चार वर्ष कार्यक्रम अधिकृतका रूपमा काम गर्दै समुदायमा आधारित अनुसन्धानमा आफ्नो दक्षता विकास गरिन् ।
हाल उनी युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आइएनल्याबकी ग्लोबल हेल्थ पोलिसी लिड हुन् । स्वास्थ्य, नीति र सामाजिक नवाचारको संगममार्फत उनले दक्षिण तथा मध्य एसियामा प्रभावकारी पहलहरू अघि बढाइरहेकी छन् ।
तर प्रकृतिको साँचो प्रेरणा नेपालको ‘जेन–जी विद्रोह’ पछि अझ स्पष्ट भयो । परिवर्तनको लहरलाई नजिकबाट बुझ्न र जनताको आवाज टिपोट गर्न उनले गत महिना ‘संवाद यात्रा’ सुरु गरिन् । चितवनदेखि कर्णालीसम्म १४ भन्दा बढी जिल्लामा पुगेर उनले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, मेयरदेखि सर्वसाधारण नागरिकसम्मसँग संवाद गरिन् । राजधानीबाट अक्सर नदेखिने संघर्ष, आशा र आकांक्षाका कथाहरू उनले संकलन गरिन् ।
बेलायत सरकारद्वारा प्रदान गरिएको पूर्ण छात्रवृत्तिमा चिभनिङ स्कलरका रूपमा उनले लन्डन स्कूल अफ इकोनोमिक्सबाट ग्लोबल हेल्थ पोलिसीमा एमएससी पुरा गरेकी छन् । ग्रयाजुएशनका लागि बेलायत आएको बेला उनले लन्डनमा नेपाली डायस्पोरासँग भेटघाट गर्दै संवाद यात्राका अनुभव साझा गरिन् ।
“मेरो लक्ष्य काठमाडौं बाहिरका नदेखाइएका र नभनिएका कथाहरू उजागर गर्नु, सामाजिक सञ्जालमार्फत तिनलाई राष्ट्रिय बहसको हिस्सा बनाउनु, र जेन–जी तथा ज्येष्ठ पुस्ताबीच पुल निर्माण गर्नु हो,” उनले भनिन् ।
उनको अवलोकन स्पष्ट छ—जेन जी आन्दोलनपछि युवामा राजनीतिक चेतना बढेको छ । कर्णालीजस्ता दुर्गम क्षेत्रका युवाहरू पनि अब विकल्प खोजिरहेका छन् । उनले जोड दिँदै भनिन्, "परिवर्तन कुनै एक व्यक्तिले होइन, सामूहिक शक्तिले सम्भव हुन्छ । भ्रष्टाचारविरुद्धको लडाइँ व्यक्तिगत नभई सम्पूर्ण समाजको संघर्ष हो ।"
डायस्पोरा अधिकारकी सशक्त समर्थक प्रकृति विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग निरन्तर संवाद गरिरहेकी छन् । उनका लागि रेमिट्यान्स केवल पैसा होइन—ज्ञान, सीप र ऊर्जाको प्रवाह पनि हो ।
'धेरै युवाको आवाज बनेको छ संवाद यात्रा'
संवाद यात्रा नाममा नै पूर्णता छ । संवाद यात्रा नामकरण पनि प्रकृतिले निकै सोचेर राखेको बताइन् । उनी हरेक तहमा पुग्दा पनि धेरै युवाहरुले मनमा रहेको जिज्ञासालाई उच्च तहमा रहेको व्यक्तिको माझ राख्न सकेको बताउँछिन् । उनी जुनै सकै ठाउँमा जाँदा पनि उनको मुख्य प्रश्न नै तपाईले कस्तो नेता खोज्नुभएको हो ? नेता तपाईको लागि के हो ? भनेर सोध्ने गर्छिन् । समाधान के सोच्नुभएको छ र आगामी दिनमा कस्तो राज्यको कल्पना गर्नुभएको छ ? भनेर सबैसँग बुझ्ने गरेकी छिन् । आन्दोलनपछि सरकार र राजनीतिक दलहरु प्रति जनताको धारणा फरक पाएको उनले बताइन् । धेरै युवाहरुले गाउँघरमा परिवर्तनको लागि आवाज पनि उठाउन थालिसकेका छन् । भविष्यमा संवाद यात्रामा धेरै युवाहरुलाई संलग्न गर्न चाहन्छिन् उनी ।
संवाद यात्राको माध्यमबाट उनी नेपालको हिमाली भेगमा पनि जान चाहन्छिन्। परिवर्तन आवश्यक छ र सबै युवाहरुको भावनाको कदर हुनुपर्छ भन्ने उनको पमूल सन्देश छ ।