Aama Ghar

स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटेर फरार

Nepal UK

Nepal UK

Wed, 12 November 2025
स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटेर फरार

विराटनगर । ‘भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,’ सुन्दरहरैंचाकी चन्द्रमा खनाल भन्छिन्, ‘अहिले बुझ्दा पो ठगिएका रहेछौँ ।’

उनको यो वाक्य यतिबेला मोरङका दर्जनौँ घरमा गुन्जिरहेको छ । कपिलवस्तुका एक व्यक्तिले स्पेन पठाइदिने नाममा दर्जनौँ परिवारको सपना, श्रम र सम्पत्ति लुटेका छन् ।

५७ वर्षीया निलादेवी खनाल र उनका श्रीमानले छोरी र ज्वाइँलाई विदेश पठाउने रहरमा १६ लाख रुपैयाँ सञ्जीव खरेल नामक व्यक्तिलाई बुझाए । छिमेकीको सिफारिसले विश्वास गरे, यही विश्वास नै उनीहरूको विनाशको कारण बन्यो ।

‘साँवा त जसोतसो तिरौला, ब्याजले त डाँडा काट्ने रहेछ,’ निलादेवी भन्छिन, सञ्जीव खरेलले उनीहरूलाई दिल्ली र काठमाडौं लगेर ‘स्पेनको भिसा आउँदैछ’ भन्दै १७ दिनसम्म होटेलमा राखे । त्यसपछि सम्पर्क टुट्यो ।

बेलबारी–४ का ४८ वर्षीय ताराप्रसाद भट्टराई मेहनती किसान हुन् । गाई पालन गरेर सानो व्यवसाय चलाइरहेका थिए । तर स्पेनमा महिनामा दुई लाख कमाइ हुन्छ भन्ने खरेलको मीठो बोलीले उनले १० वटा गाई बेचेर ६ लाख रुपैयाँ बुझाए ।

‘घरमा कसरी मुख देखाउने?’ उनले भने, ‘गाई पनि गयो, पैसा पनि गयो।’ खरेलले उनलाई बार्सिलोना पछाडिको पृष्ठभूमि राखेर भिडियो अन्तर्वार्ता लिने नाटक गरे । त्यसपछि थप पैसा माग्दै गए । तर, न भिसा आयो, न खरेल फेला परे ।

कतारमा बारिस्ता काम गर्ने शशिता दनुवारले पनि त्यही सपना देखिन् । महिनाको झन्डै एक लाख कमाइ भए पनि स्पेनमा दुई लाखभन्दा बढी हुन्छ भन्ने लोभमा उनले सुन बेचेर ८ लाख बुझाइन् ।

‘दशैंको अघिल्लो दिन फोन गरेर भिसा आयो भनेपछि टिका पनि नलगाई काठमाडौं गएँ,’ उनी सम्झिन्छिन् । ११ दिनपछि उनले न त भिसा पाइन्, न पासपोर्ट ।

सुन्दरहरैंचा–९ का गोविन्द दहाल ग्रिल व्यवसायी हुन् । राम्रै चलिरहेको व्यवसाय बेचेर उनी पनि स्पेनको तयारीमा लागे । नवमीको दिन परिवारसँग उत्साहसहित भएर बिदा भए, उनको भोलिपल्टै स्पेन उड्ने योजना थियो ।

तर, त्यही सपना ठगीको जालमा प¥यो । ९ लाखभन्दा बढी खर्च गर्दा पनि उनले न भिसा पाए, न पैसा ।

‘सपना त स्पेनको थियो, तर गन्तव्य ठगीको बन्यो,’ उनी भन्छन् ।

डिजिटल ठगीको नयाँ रूप

सञ्जीव खरेलले सम्पर्कका लागि फोन मात्र होइन, वाट्सएप, भाइबर, टेलिग्राम र फेसबुक मेसेन्जर प्रयोग गर्थे । उनले भारतमा समेत सञ्जीव खरेल नाममै आधार कार्ड बनाएर चलाएको पीडितहरूले बताएका छन् ।

कहिले आफ्नै, कहिले अरूको बैंक खातामा पैसा हाल्न लगाउँथे । पीडितहरूका अनुसार उनी कहिले दिल्ली, कहिले कपिलवस्तु र कहिले काठमाडौँमा हुने गर्थे । पछिल्लो समय उनी सम्पर्कविहीन छन् ।

कसरी काम गर्थे खरेल?

पिडितहरुका अनुसार पहिलो चरणमा, सामाजिक सञ्जालमार्फत ‘स्पेन पठाइदिन्छु’ भन्ने प्रस्ताव राख्दथे ।

दोस्रो चरणमा, ‘भिसा प्रक्रिया सुरु भयो’ भन्दै दिल्ली र काठमाडौँमा बोलाउने गरेका उनले तेस्रो चरणमा, फेक भिसा देखाउने, अन्तर्वार्ता लिने नाटक र डेढ लाखका लुगा किन्न नर्देशन समेत दिने गर्दथे ।

पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन् । ‘पैसा त गयो, तर अब अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन् ।

शशिता दनुवार भन्छिन्,‘हामी विदेशमा दुःख गरेर पठाएको पैसा पनि ठगले लुटे । अब अरू नफसुन् भन्ने चाहना मात्रै छ ।’

Source: Nepal News Bank