Aama Ghar

सञ्चालनमा नरहेका विद्यालयमाथि काठमाडौँ महानगरको कडाइ, अनुमति खारेजीको प्रक्रिया सुरु

Nepal UK

Nepal UK

Tue, 23 December 2025
सञ्चालनमा नरहेका विद्यालयमाथि काठमाडौँ महानगरको कडाइ, अनुमति खारेजीको प्रक्रिया सुरु

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाएको छ। महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२/०४/२८ गतेको निर्णयअनुसार विगतमा अनुमति प्राप्त गरी सञ्चालनमा आएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि प्रक्रिया अघि बढाइएको हो।

शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन, रुजु तथा एकिन गरी आवश्यक निर्णयका लागि कार्यपालिकामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। सोही क्रममा विभिन्न समयमा गरिएको स्थलगत अनुगमनबाट काठमाडौँ महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू सञ्चालनमा नरहेको र नदेखिएको भन्ने प्रतिवेदन प्राप्त भएको शिक्षा विभागले जनाएको छ।

महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचीअनुसारका विद्यालयहरू हाल पनि स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिका शिक्षा विभाग, कमलादीमा उपस्थित भई विद्यालय सञ्चालनमा रहेको प्रमाण पेश गर्नुपर्नेछ।

तोकेको समयसीमाभित्र सम्पर्क तथा पुष्टि नगरिएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३(ट) बमोजिम ती विद्यालयहरू बन्द गर्न कार्यपालिकामा सिफारिस गरिने महानगरपालिकाले स्पष्ट पारेको छ।