Nepal UK
तस्बिरः क्यान
काठमाडौं, नेपाल — अष्ट्रेलियाको डार्बिनमा जारी ‘टप एन्ड टी–२० सिरिज’मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उत्कृष्ट लय कायम राख्दै बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ। यस जितसँगै नेपालले सिरिजमा लगातार दोस्रो विजय हासिल गर्दै आफ्नो प्रदर्शनमा सुधार गरेको छ।
पामर्स्टनस्थित काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन (२२ बल) बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २७ र लोकेश बमले २४ रनको महत्त्वपूर्ण योगदान दिए। यसबाहेक भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाएका थिए। मेलबर्नका लागि फर्गस ओ'निल, कलुम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले २-२ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको मेलबर्न रेनेगेड्स एकेडेमीको इनिङ्सलाई नेपाली बलरहरूले धरमर पारे। लगातार विकेट झर्दा मेलबर्न टोली २० ओभर खेल्दै १०६ रनमा समेटियो। मेलबर्नका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाएका थिए।
नेपालको जितमा बलर सोमपाल कामीको प्रदर्शन उत्कृष्ट रह्यो। उनले ४ ओभरमा मात्र १७ रन खर्चिएर ५ महत्त्वपूर्ण विकेट लिए। सोमपालको यो प्रदर्शन खेलको ‘टर्निङ प्वाइन्ट’ साबित भयो। उनलाई कुशल भुर्तेलले २ तथा शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिँदै राम्रो साथ दिएका थिए।
सिरिजमा नेपालको प्रदर्शनको यो उत्कृष्ट पुनरागमन हो। सुरुवाती तीन खेलमा लगातार पराजित भएको नेपालले यसअघि मंगलबार मात्रै होबार्ट हरिकेन्सलाई पराजित गर्दै पहिलो जित निकालेको थियो।
यो सिरिज आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा हेरिएको छ। सिरिजको पाँचौँ खेलमा जित हासिल गरेसँगै नेपाली टोलीको मनोबल अझै उच्च भएको छ। अब नेपालले आफ्नो छैटौँ तथा अन्तिम खेल शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।