स्कटल्यान्डमा भव्य रुपमा सम्पन्न भयो पहिलो नेपाली मेला

NU

NU

Wed, 25 June 2025

एडिनबरा-- स्कटल्यान्डको राजधानी एडिनबरामा  पहिलो नेपाली मेला भव्यरुपमा सम्पन्न भएको छ।

बेलायतस्थित नेपाली राजदूतावासले  गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्ड र स्थानीय संघसंस्थासंगको सहकार्यमा गत सोमबार (२३ जुन) मा आयोजना गरेको कार्यक्रममा स्कटल्यान्डमा बस्दै आएका नेवार, मगर, गुरुङ, शेर्पालगायत विभिन्न समुदायका नेपालीले आफ्नो जातीय पहिचान झल्किने पोशाकका साथै झाँकी र बाजागाजा प्रस्तुत गरेका थिए।

कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत, दूतावासका कर्मचारी तथा स्कटल्यान्डका सरकारी निकायका उच्च कर्मचारीहरूको समेत उपस्थिति थियो । बेलायतका लागि  नेपाली राजदुत चन्द्रकुमार घिमिरेले स्कटल्यान्डका विभिन्न ठाउँमा रहेका नेपालीहरू एकैठाउँमा भेला भएर नेपाल तथा स्कटल्याण्डबीच सम्बन्ध सुदृढ गर्न  तथा नेपाली  कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्न नेपाली मेला आयोजना गरिएको बताए।  उनले नेपाली मेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।  सोही कार्यक्रमस्थलमा नेपाली समुदायलाई दूतावासले राहदानी तथा कन्सुलर सेवासमेत उपलब्ध गराएको थियो।

कार्यक्रममा नेपालबाट आएका धीरज राई, सुनीता दुलाल, भूमिका साह लगायतका कलाकारले रोचक सांगीतिक कार्यक्रम प्रस्तुत गरेका  थिए। कार्यक्रमकी प्रमुख अतिथि स्कटल्यान्डकी सामाजिक न्याय  मन्त्री शर्ली एन समर्भिलले नेपालको सांस्कृतिक विविधताबाट आफु अत्यन्तै प्रभावित भएको बताइन्।  उनले स्कटल्याण्डको बहु सांस्कृतिक परम्परामा नेपाली समुदायले उल्लेख्य योगदान पुरै रहेको भन्दै प्रशंसा पनि गरिन।

एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पाण्डेले नेपाली मेलाले दुवै देशको संस्कृति बुझाउन र  विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको  बताए।

 

Image credit: London Nepal news