Aama Ghar

साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

Nepal UK

Nepal UK

Mon, 25 August 2025
साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

काठमाडौँ: भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज (सोमबार, भदौ ८) आफ्नो तेस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे (१७:४५) सुरु हुनेछ।

प्रतियोगिताको उपाधि होडका लागि यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

हालसम्म खेलेका दुई खेलमध्ये नेपाल र बंगलादेश दुवैले एकमा जित र एकमा हार बेहोरेका छन्।

नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै प्रतियोगितामा सुखद पुनरागमन गरेको थियो।

यता, बंगलादेशले भने आफ्नो पहिलो खेलमा भुटानलाई ३–१ ले पराजित गरेको थियो र दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएको थियो।

अंक तालिकामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल र बंगलादेशको समान ३-३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।

डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालित यो प्रतियोगितामा सबै चार टोली (भारत, बंगलादेश, नेपाल र भुटान) ले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन्।

यस खेलको नतिजाले अंक तालिकामा ठूलो प्रभाव पार्नेछ र फाइनलको दौडमा कुन टोली अगाडि बढ्छ भन्ने निर्धारण गर्नेछ।

अघिल्लो खेलमा पाएको जितबाट हौसिएको नेपाली टोली आज बंगलादेशविरुद्ध थप सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा छ।

विगतका भेटमा बंगलादेश नेपालका लागि सधैँ कडा प्रतिद्वन्द्वी रहँदै आएको छ। त्यसैले आजको खेलमा दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।