साफ यू २०: बंगलादेशसँग आज नेपाल भिड्दै, जितको खोजीमा युवा टोली

NU

NU

Sun, 13 July 2025

काठमाडौं। साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। साविक विजेतासमेत रहेको बंगलादेश आफ्नो घरेलु मैदानमा खेल्दा थप बलियो देखिएको छ।

सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ। आजको खेलमा जित हासिल गर्न सके नेपालले लामो समयदेखिको बंगलादेशविरुद्धको खराब नतिजालाई चिर्नुका साथै च्याम्पियनसिपमा आफ्नो उपाधि यात्रालाई बलियो बनाउनेछ। नेपालका लागि यो खेल सेमिफाइनल पुग्नका लागि पनि महत्वपूर्ण मानिएको छ।

च्याम्पियनसिपमा हालसम्म नेपालले खेलेका खेलहरूमा मिश्रित प्रदर्शन गरेको छ। टोलीले केही खेलमा राम्रो प्रदर्शन गरे पनि गोलरक्षक र अग्रपङ्क्तिको तालमेलमा केही कमजोरी देखिएको छ। आजको खेलमा डिफेन्सलाई बलियो बनाउँदै गोलका अवसर सिर्जना गर्न सके नेपालले बंगलादेशलाई कडा चुनौती दिन सक्छ।

नेपाली टोली ः बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

प्रशिक्षक र खेलाडीहरूले बंगलादेशविरुद्धको खेल चुनौतीपूर्ण हुने स्वीकार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली फुटबलप्रेमीहरू आजको खेलमा नेपालले इतिहास रच्न सकोस् भन्ने आशामा छन्।