Aama Ghar

राजनीति सेवा हो भने मेवा किन चाहियो?

नारायण गाउँले

नारायण गाउँले

Sun, 12 October 2025
राजनीति सेवा हो भने मेवा किन चाहियो?

सोच्नुस् त, मन्त्री या प्रधानमन्त्रीबाट हटेको दिन दायाँबायाँ दर्जन बढ़ी पुलिसको सुविधा खारिज गर्ने र फेरि आमजनताजस्तै बन्न पर्ने हो भने देशमा भ्रष्टाचार आफै कम हुन्थ्यो होला ! फेरि जनतामैं फर्किनुपर्ने भएपछि गलत गर्नुअघि दुई पल्ट सोच्नुपर्ने हुन्थ्यो ! भोलि पुलिसको घेरा हुँदैन भन्ने हो भने त्यसै स्वच्छ छवि हुन्थ्यो ।
तर गरिब देशमा तिनलाई आजीवन सुरक्षा र भत्ता दिएर पाल्नुपर्ने रहेछ ।
पूर्वप्रधानमन्त्रीले मात्रै १८ जना सुरक्षाकर्मी त कार्यविधि अनुसार नै लिन मिल्ने रहेछ । त्यसमाथि तिनले आफैले बनाएको कार्यविधिभन्दा झन्डै दोब्बर सुरक्षाकर्मी लिने रहेछन् । जनताका प्रतिनिधिलाई कति धेरै असुरक्षा होला ? अझ प्रचण्ड र ओलीजीले त सुरक्षाकर्मीलाई घरेलु काममा समेत नोकरचाकरको रूपमा प्रयोग गरेको दाबी गृहमन्त्रालयको छ ।
प्रधानमन्त्री हुँदा तलब एक लाख जति तोकिएको छ । तर पूर्व हुँदासमेत तिनलाई करोडौं रुपियाँको खर्च नागरिक करबाट बेहोर्नुपर्ने रहेछ । १८ जना मात्रै सुरक्षाकर्मी दिँदा पनि औसत तलब चालीस हजारको दरले ७ लाख त प्रहरीको तलबमा मात्रै खर्च हुने रहेछ । हातहतियार, बर्दी, सञ्चार सेट, खानपिन, तालीम, बिदा, गाड़ी, पेट्रोल, भत्ताजस्ता कुरा पनि जोड्न पर्यो । अनि पूर्वप्रधानमन्त्रीलाई समेत कर्मचारी, सचिबालय, स्वकीय, गाड़ी, ड्राइभर, खाना, तेलजस्ता कुरा जोड्ने हो भने एउटा पूर्वप्रधानमन्त्री पाल्न १५-२० वटा प्रधानमन्त्रीको तलब खर्च हुने रहेछ । देशले पचासभन्दा बढ़ी त प्रधानमन्त्री मात्रै पालिरहेको रहेछ । युरोपको सम्पन्न देश फिनल्याण्डमा खाजा खाएको पैसा सरकारी कोषबाट लिएको विषयमा समेत प्रधानमन्त्रीले राजीनामा दिएको पढ्ने धेरै छौं । बेलायतमा मन्त्रीलाई कुनै कार्यक्रममा बोलाउँदा कुनै पुलिस मञ्चसम्मैं सँगै आएको याद छैन ।
फेरि सबैभन्दा बढ़ी असुरक्षा कम्युनिस्ट प्रधानमन्त्रीलाई नै हुने रहेछ । गफमा त ती जेमा पनि 'जन' शब्द जोड्छन् । नेता पनि जननेता, वाद पनि जनवाद । तर जनसँग डराउने पनि तिनै । सुरक्षाकर्मीको दुरुपयोगमा तिनको नाम सबैभन्दा अगाडि आउने रहेछ । सामन्तवादको विरोध गरेर राजनीति सुरु गर्नेले नै प्रहरीलाई भाँडा मझाउनु दुर्भाग्यपूर्ण छ !
एकपल्ट गृहमन्त्री हुन पाए दश वर्षसम्म दायाँबायाँ प्रहरी ग्यारेन्टी हुने रहेछ । मिलिजुली आजीवन लिन पाइयो ।
केन्द्रदेखि देशमा सात वटा प्रदेश छन् । तिनका प्रमुखदेखि देशका नेता र संवैधानिक अङ्गमा पुग्ने दर्जनौं भिआईपीको सुरक्षामैं हाम्रो करको ठूलै हिस्सा खर्च हुने देखियो । अझ ती पूर्व हुँदा पनि राज्यकोष चुसिरहने व्यवस्था बनेको रहेछ । एकपल्ट घुसेपछि आजीवन चुस्न पाइने भएपछि राजनीति कसले छोड्ने ? जनता र उद्योगव्यवसायको सुरक्षा त दोस्रो प्राथमिकता जस्तो देखियो ।
गाड़ी, ड्राइभर, पेट्रोल, टेलिफोन, घरभाडा,  पाहुना सत्कारजस्ता अनेक शीर्षकमा तलबभन्दा पाँच गुना बढ़ी खर्च हुने रहेछ । तिनले गाउँमा रहेको घर घुम्न गए भ्रमण भत्ता र यसो दुई तीनजनासँग टेबलमा बसे बैठकभत्ता पनि पड्काउने रहेछन् । संसदको  काम नै बैठक बस्ने, छलफल गर्ने र कानुन बनाउने हो । तलब नै त्यसैका लागि हो तर बैठक बसेको, बैठकमा आउन ट्याक्सी चढेको जस्तो शीर्षकमा भत्ता पाइने रहेछ । त्यो पनि हाजिर गर्नेमात्रै । संसदको एउटा पनि सत्रमा आधा कुर्सी भरिएको पनि देखिएको छैन ।
राम्रो तलब दिने र बाँकी काम त्यही तलबबाट गर्नुपर्ने, आवश्यक परे गाड़ी पाइने तर तेल र ड्राइभर आफै व्यवस्था गर्नुपर्ने, बैठक बसे चिया र पानी पाइने तर एक शब्द बोलेको एक सय रुपियाँ लिन नपाइने हो भने पनि राज्यकोषको धेरै रकम बच्ने रहेछ । बेलायतमा मन्त्रीलाई भेट्न जाँदा मन्त्रीले नै चिया बनाएर पिलाउन सक्छन् भने हामीलाई 'ए भाइ, पानी ल्याऊ त !' भन्न छुट्टै कार्यालय सहयोगी किन चाहियो ?
राजनीति सेवा हो भने युरोपभन्दा धेरै मेवा किन चाहियो ?
सुरक्षा सबै नागरिकको आधारभूत हक हो । तर पूर्व हुनेबित्तिकै 'विशेष सुरक्षा' पाइने नीतिलाई कम्तिमा दश वर्ष रोकम् त । राजनीति आफै सफा हुन थाल्छ ! भोलि त्यही गाउँमा तिनै छिमेकीबीच बस्न पर्ने भएपछि कसले चोर्छ ?

(कवि तथा टिप्पणीकार  गाउँले लन्डनमा बस्छन् )