Aama Ghar

पूर्वराजाको भान्जा भन्दै ठगी धन्दा: ४८ युवाबाट करोडौँ उठाउने दुईजना पक्राउ

Nepal UK

Nepal UK

Fri, 12 December 2025
पूर्वराजाको भान्जा भन्दै ठगी धन्दा: ४८ युवाबाट करोडौँ उठाउने दुईजना पक्राउ

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारी दिलाइदिने नाममा ४८ जना युवायुवतीबाट करिब चार करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ निवासी ५१ वर्षीय मनोजकुमार सिंह (अनुपकुमार सिंह) पक्राउ परेका छन्।

दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठसँग मिलेर सिंहले बेलायतको म्यान्चेस्टरस्थित होटलमा रोजगार मिलाइदिने भन्दै बेरोजगार युवाहरूलाई झुटा आश्वासन दिएको अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा मेचीनगर नगरपालिका–१०, धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो। आफू पूर्वराजाको भान्जा भएको भन्दै परिचय बनाउने सिंहले युवायुवतीलाई सहजै विश्वासमा पारेर ठगी गर्ने गरेको कार्यालयले जनाएको छ।

अनुसन्धानका क्रममा उनले नक्कली रोजगार–सम्झौता, बेलायती दूतावासको कागजात जस्तै देखिने पत्र, भिसा तथा हवाई टिकटसमेतका जालसाझी दस्तावेज प्रयोग गर्ने गरेको पाइएको छ।