पाँचौं हिमालयन ट्राभल मार्ट  काठमाडौँमा  सम्पन्न

NU

NU

Mon, 09 June 2025


काठमाडौँ -  हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण विश्वका ३० मुलुकहरुबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधिहरु तथा सरोकारवालाहरु सहित ७०० भन्दा बढी प्रतिनिधिहरूलाई  सहभागी गराउंदै काठमाडौंमा  सम्पन्न भएको छ।

पाटा नेपाल च्याप्टरको ५० औं वार्षिकोत्सवको विशेष अवसरमा  “माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम” भन्ने मूल नाराका साथ आयोजित हिमालयन ट्राभल मार्टले  दिगो पर्यटन वृद्धिको लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, प्रवर्द्धन, र दिगो पर्यटन वृद्धिका लागि नयाँ मापदण्डहरू समेत स्थापित गरेको छ।

यही जुन ३ देखि ५ सम्म द  सोल्टी काठमाडौंमा  अन्तर्राष्ट्रिय क्रेताहरु, बिक्रेताहरू, संचारकर्मी,  पर्यटन व्यवसायी, नीतिनिर्माता र सरोकारवालाहरूको  उत्साहजनक सहभागिताले हिमालयन ट्राभल मार्टलाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा पुनः पहिचान गराएको आयोजकले जनाएका छन्।  

पाटा नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरूको सहकार्य र सहयोगमा आयोजित हिमालयन ट्राभल मार्ट अन्तर्गत व्यवसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो।

कार्यक्रमको पूर्वसन्ध्यामा मे ३० देखि जुन २ सम्म आयोजित परिचयात्मक भ्रमणमा अन्तर्राष्ट्रिय अतिथिहरूले काठमाडौं, चितवन, पोखरा, पनौती, र धुलिखेल जस्ता गन्तव्यहरूमा पुगेर नेपालका विविध अनुभवहरू अवलोकन गरे। यी यात्राहरूबाट सहभागीहरुले  नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक अनुभवहरूलाई प्रत्यक्ष रूपमा अनुभूत गर्ने मौका पाएका थिए ।