Aama Ghar

निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी, सीमावर्ती नाकाबाट भित्रिँदै नक्कली मुद्रा

Nepal UK

Nepal UK

Fri, 30 January 2026
निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी, सीमावर्ती नाकाबाट भित्रिँदै नक्कली मुद्रा

काठमाडौं – निर्वाचन नजिकिँदै गर्दा नेपालमा नक्कली नोटको कारोबार सक्रिय बन्दै गएको देखिएको छ। पछिल्लो केही महिनामै राजधानीदेखि सीमावर्ती जिल्लासम्म नक्कली नोटसहित पक्राउ पर्नेहरूको संख्या बढेपछि सुरक्षा निकाय चिन्तित बनेका छन्।

गत पुस १६ गते काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट नेपाली एक हजार दरका ९३ थान नक्कली नोट बरामद गरिएको थियो। उक्त घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बारा घर भई भारतको मोतिहारी लाला टोल–पतौना क्षेत्रमा डेरा गरी बस्ने रविकुमार श्रीवास्तवले ती नक्कली नोट छाप्ने गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार पुस २० गते नक्कली नोट नेपालमै छाप्न प्रयोग गरिने प्रिन्टिङ मेसिन, कम्प्युटर लगायतका सामग्री भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा नियन्त्रणमा लिइ उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। 

 

यसअघि मंसिर २४ गते सर्लाहीको विष्णु गाउँपालिका–६ बाट भारततर्फबाट नेपाल आउँदै गरेको मोटरसाइकलबाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट बरामद गरिएको थियो। सो घटनामा प्रहरीले फिरोज खानलाई पक्राउ गरेको थियो।

त्यसैगरी मंसिर १६ गते रौतहटको ईशनाथ नगरपालिका–४, लत्मरी टोलबाट प्रहरीले एक हजार दरका १ सय १८ थान नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा अजय पटेल, गेनालाल पटेल र भारतका नागरिक जयप्रकाश कुमार पक्राउ परेका थिए।

पछिल्लो समय नक्कली नोट कारोबारीहरू भारतमा बसेर नक्कली मुद्रा छाप्ने र सीमावर्ती नाकाबाट नेपाल भित्र्याउने प्रवृत्तिमा सक्रिय देखिएको प्रहरीको भनाइ छ। हाल पक्राउ परेका अधिकांश व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने क्रममा सीमावर्ती क्षेत्रमा जाँचका बेला समातिएका हुन्। गोकर्णेश्वरबाट बरामद नक्कली नोट पनि भारतबाटै भित्र्याइएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता भट्टराईले बताए।