नेपालमा अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी

NU

NU

Thu, 19 June 2025

काठमाडौँ -  नेपालका  विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– १, छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका– ५, गोकुलेश्वर खलंगा राजमार्ग अवरुद्ध भएको छ।

यस्तै, वर्षाका कारण अवरुद्ध भएका तीन मुख्य सडक एकतर्फी रूपमा सञ्चालन भएको छ। जुम्ला जिल्लाको जुम्ला–मुगु सडक, गुल्मी जिल्लाको कालिगण्डकी करिडोर र धनकुटा जिल्लाको रवि–राके–भेडेटार सडक एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसै बीच चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन् ।

सो सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेका छन्।

सिन्धुपाल्चोक तथा काभ्रे जिल्ला प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर २१ जुनसम्म सतर्कता अपनाउन जिल्लावासीहरुलाई अनुरोध गरेका छन्  

 

(फाइल फोटो)

https://nayapatrikadaily.com/news-details/170620/2025-06-18