Nepal UK
Photo courtesy: MoFA/Nepal
काठमाडौँ । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुईवटा हात्ती कतार पठाइएको छ ।
चितवन सौराहाबाट खोरसहित ट्रकमा चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई सोमबार कतार एयरवेजको कार्गो चार्टर विमानबाट दोहा पठाइएको हो ।
कतार एयरवेजको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट सोमबार अपरान्ह ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पठाइएको हो । गत अप्रिल २०२४ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार ती हात्ती पठाइएको अधिकारीहरुले बताए । ती दुबै हात्तीलाई कतारको अल खोर पार्क चिडियाखानामा राखिने जनाइएको छ।
चितवनस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो । सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्ष र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए ।
कतार सरकारलाई उपहारस्वरूप दिने घोषणा गरिएका दुबै हात्तीलाई भैरहवा विमानस्थलमै कतार सरकारलाई हस्तान्तरण गरिएको थियो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरिएको थियो ।
वन्यजन्तुसम्बन्धी अन्तरराष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानुन बमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी विमानस्थलबाट विशेष कार्गो विमानबाट कतारको राजधानी दोहा पठाइएको हो । बिहीबार कतारको राष्ट्रिय दिवस पनि हो । "यस उपहारले नेपाल र कतारबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ," नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कतार उड्नु अघि विमानस्थल कार्यालयमा नेपाल सरकारका अधिकारी र नेपालस्थित कतार दूतावासका अधिकारीको उपस्थितिमा हात्ती हस्तान्तरण गरिएको थियो । नेपाल सरकार वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कतार दूतावासका डेपुटी चिफ अफ मिसन खालिफा अल्मारीलाई दुई ओटा हात्ती हस्तान्तरण गरेका थिए ।
त्यस अवसरमा सचिव मिश्रले कतारलाई दिइएको हात्ती उपहारबाट कूटनीतिकसम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरे । कतार दूतावासका डेपुटी चिफ अफ मिसन अल्मारीले नेपालले हात्ती उपहार दिएकोमा खुसी ब्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद दिए ।
लाखौं नेपालीहरु कतारको निर्माण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छन्।