Aama Ghar

नेपालको निर्यातमा रेकर्ड तोड ८९.६% ले उछाल, तीन महिनामै ७३ अर्ब नाघ्यो

Nepal UK

Nepal UK

Fri, 21 November 2025
नेपालको निर्यातमा रेकर्ड तोड ८९.६% ले उछाल, तीन महिनामै ७३ अर्ब नाघ्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको निर्यात व्यापारमा ऐतिहासिक उछाल आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–असोजसम्मको तीन महिनामा कुल निर्यात ८९.६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ६.१ प्रतिशतले घटेकोमा यो वर्ष अचाक्ली वृद्धि भएको हो।

गन्तव्यका आधारमा सबैभन्दा ठूलो छलाङ भारततर्फ देखिएको छ। भारततर्फको निर्यात १३७.९ प्रतिशतले बढेको छ भने अन्य तेस्रो मुलुकतर्फ ३.८ प्रतिशतले सुधार भएको छ। तर, चीनतर्फको निर्यात भने ६६.१ प्रतिशतले ओरालो लागेको छ।

वस्तुगत रूपमा भटमासको प्रशोधित तेल, पाम तेल, अलैंची, जुटजन्य सामान, पोलिष्टर यार्न तथा तयारी पोशाकको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। उता जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिना (रोप) को निर्यात भने घटेको छ।

यता, आयाततर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। भारतबाट ७.५%, चीनबाट ३३.४% र अन्य मुलुकबाट ४६.५% ले आयात बढेको छ। आयात हुने मुख्य वस्तुमा कच्चा भटमासको तेल, रासायनिक मल, सुन, सवारी साधन तथा पार्ट्स, दूरसञ्चारका उपकरणहरूको हिस्सा उल्लेख्य छ भने पेट्रोलियम पदार्थ, हट रोल्ड स्टिल, खानेतेल र तेलहन बालीको आयात घटेको छ।

निर्यातको तुलनामा आयातको वृद्धिदर धेरै भएकाले व्यापार घाटा फेरि चुलिएको छ। तीन महिनामै व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो।

वाणिज्य विज्ञहरूका अनुसार निर्यातमा आएको यो उच्च वृद्धि सकारात्मक संकेत भए पनि आयात अझै अनियन्त्रित रहेकाले व्यापार सन्तुलन कायम गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्।