Nepal UK
काठमाडौँ - सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर हायुटारमा रहेको एसबीआइ बैंक शाखामा भएको लुटपाट घटनाले देशभर गम्भीर चासो र तरंग पैदा गरेको छ। पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थामाथि लगातार लुटपाट, आक्रमण र तोडफोडका घटना बढ्दै जानुले बैंकिङ्ग सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ। सर्वसाधारणले सुरक्षित ठानेका बैंकहरू नै निशानामा पर्न थालेपछि बैंकप्रतिको विश्वास कमजोर बन्ने जोखिम देखिएको छ।
हालका वर्षहरूमा एटिएम तोडफोड, बैंक शाखामा लुटपाट, ऋण असुलीमा खटिएका कर्मचारीमाथि हातपात तथा अभद्र व्यवहारजस्ता घटनाहरू बारम्बार सार्वजनिक हुँदै आएका छन्। गत पुस २१ गते एनआईसी एशिया बैंकमा एक ऋणीले बैंक परिसरमै आत्मदाह प्रयास गरेको घटना सेलाउन नपाउँदै सिन्धुलीमा एसबीआइ बैंक लुटिएको हो। यसअघि ज्योति विकास बैंकका कर्मचारीमाथि अभद्र व्यवहार भएको घटना पनि चर्चामा आएको थियो। नेपाल बैंक, नबिल बैंक, एसबीआइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक र सिटिजन बैंकका विभिन्न शाखाहरूमा यसअघि पनि यस्तै प्रकृतिका घटना भइसकेका छन्।
एसबीआइ बैंक लुटपाटपछि बैंकिङ्ग क्षेत्र पुनः त्रासको अवस्थामा पुगेको छ।
प्रहरीका अनुसार एसबीआइ बैंक लुटपाट प्रकरणमा हालसम्म ७ जना पक्राउ परिसकेका छन्। लुटिएको ३ करोड ७ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार लुटपाटकै दिन एक जनालाई पक्राउ गरिएको थियो भने जंगलतर्फ भागेका थप चार जनालाई पुस ३० गते नियन्त्रणमा लिइएको हो। घटनामा प्रयोग गरिएको टाटा सुमो जीप र चालक भगतसिंह थापा पनि प्रहरी नियन्त्रणमा छन्।
अनुसन्धानका क्रममा लुटेराहरूले बैंकका कर्मचारीका हातखुट्टा बाँधेर भल्टको चाबी लिई ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको खुलेको छ। लुटपाटपछि जंगलतर्फ भाग्ने क्रममा बाटोमा खसेको रकमको आधारमा खोजी तीव्र पार्दा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाका क्रममा बैंकका गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार हुँदा उनी सामान्य घाइते भएका थिए।
पक्राउ परेकाहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट २ थान खुकुरी, १ थान प्लास्टिकको पेस्तोल, ५ थान मोबाइल फोनलगायत सामग्री बरामद गरिएको छ।
प्रहरी प्रवक्ता सूर्यप्रकाश सुवेदीका अनुसार पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युसँगको बयानबाट उनीहरूले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाएर तयारी र सूचना संकलन गरिरहेको खुलेको छ।
यसअघि पनि देशका विभिन्न स्थानमा बैंक लुटपाटका गम्भीर घटना भएका छन्। २०७० सालमा कैलालीको मालाखेतीस्थित नबिल बैंक शाखाबाट ट्राफिक प्रहरीको भेषमा आएका व्यक्तिहरूले २ करोड ३० लाख रुपैयाँ चोरी गरेका थिए। २०८१ मा पर्साको वीरगन्जस्थित नबिल बैंक शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जना पक्राउ परेका थिए।
त्यसैगरी सप्तरीको खडक नगरपालिका–७ स्थित नेपाल बैंकमा सुरक्षा गार्ड सुतिरहेको अवस्थामा बन्दुक, गोली र मोटरसाइकल चोरी भएको थियो। २०७८ मा मोरङको सिटिजन बैंकबाट २१ लाख रुपैयाँभन्दा बढी लुटिएको थियो भने २०८० मा महोत्तरीको एनएमबी बैंक शाखाबाट पेस्तोलसहित आएका लुटेराले १५ लाखभन्दा बढी नगद लुटेका थिए। यसै वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र रहेको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको घटना पनि सार्वजनिक भइसकेको छ।
नबिल बैंकका पूर्व अध्यक्ष उपेन्द्र पौडेलकाअनुसार यस्ता घटनाले बैंकका कर्मचारीमा सन्त्रास पैदा गर्नुका साथै बैंकमा थुप्रिएको खर्बौं रुपैयाँको लगानी जोखिममा पार्ने खतरा बढाउँछ। यसले बैंकहरूको खराब कर्जा अनुपात झनै बढ्न सक्ने उनको भनाइ छ।