Nepal UK
कुनै पनि समुदाय वा नगरको समग्र विकासमा काउन्सिलरको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। काउन्सिलरहरू नागरिक र स्थानीय सरकारबीचको पुलको रूपमा काम गर्छन्। उनीहरूले जनताका समस्या सुनेर समाधानको मार्ग खोज्ने, आवश्यक सरोकारवालासँग समन्वय गर्ने, तथा स्थानीय स्तरमा नीति निर्माणका प्रक्रियामा सक्रिय रूपमा योगदान पुर्याउने जिम्मेवारी वहन गर्छन्। काउन्सिलर भनेको केवल पद धारण गर्ने व्यक्ति मात्र होइन; उनीहरू समुदायका प्रतिनिधि, मार्गदर्शक र आवाज हुन्। उनीहरूको सक्रियता, ईमानदार नेतृत्व र व्यावहारिक निर्णयक्षमतालाई नै समाज कति सुन्दर, सुरक्षित र व्यवस्थित बन्ने भन्ने कुराले निर्धारण गर्छ। यसै सन्दर्भमा प्रस्तुत छ - अल्डरसटको वेलिंग्टन वार्डबाट काउन्सिलर पदका उम्मेदवार डा. विशाल गुरुङसँग नेपालयुके डटकमले गरेको कुराकानी :
वेलिंग्टन वार्डको काउन्सिलर पदमा तपाईंको उम्मेदवारी किन ?
म बेलायत आएको करिब आठ वर्षभन्दा बढी समयदेखि विभिन्न संघसंस्थामा सक्रिय रूपमा आबद्ध भएर काम गर्दै आइरहेको छु। यस क्रममा नेपाली समुदायभित्र धेरै समस्या रहेको महसुस भयो। समुदायका अग्रजहरूले पनि समस्याको समाधानका लागि धेरै काम गर्दै आउनुभएको छ, तर केही विषयहरू काउन्सिल स्तरमै पहुँच आवश्यक हुने देखियो। वृद्धवृद्धा, युवाहरू तथा नेपाली समुदायका विभिन्न समस्याहरू सुनेर नियमित रूपमा काउन्सिलिङ गर्दै आएको व्यक्तिका रूपमा म अझ प्रभावकारी ढंगले काम गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दिएको हुँ। यहाँको नेपाली समुदायको आवाज काउन्सिलसम्म पुर्याउने, बाहिरी समुदायसँग सद्भाव र सम्बन्ध कायम गर्ने, र समस्यामा परेका सबैलाई मार्गदर्शन गर्न सक्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ।
कन्जर्भेटिभ पार्टी नै किन रोज्नुभयो ?
समाजसेवाको मूल उद्देश्य पूरा गर्न राजनीति पनि महत्त्वपूर्ण माध्यम हो भन्ने मैले बुझें। स्थानीय नियमकानुन, नीति तथा निर्णयहरू प्रायः काउन्सिलबाट नै तय हुने भएकाले समाजको हितका लागि नेतृत्व आवश्यक छ। स्वतन्त्र उम्मेदवारका रूपमा पनि उठ्न सक्थेँ, तर टिमवर्क, समन्वय र संस्थागत समर्थन आवश्यक भएकाले पार्टीबाट उठ्ने निर्णय गरेँ। कन्जर्भेटिभ पार्टीको अनुशासन, मूल्य, मर्यादा र काम गर्ने शैली मेरो व्यक्तिगत विचारसँग मेल खाने भएकाले यही पार्टी रोजेको हुँ। यस पार्टीले धेरै कुरा सिकाएको छ, र समुदायका लागि काम गर्न अझ प्रभावकारी हुने विश्वासका साथ मैले कन्जर्भेटिभ पार्टीबाट उम्मेदवारी दिएको हुँ।
अल्डरसट–फार्नबरो क्षेत्रमा भूतपूर्व गोर्खा तथा नेपाली समुदायको बाक्लो उपस्थिति छ। यहाँ वृद्धवृद्धाका मुख्य समस्या के छन् ?
मेरो अनुभवमा, यहाँ धेरै गोर्खा वृद्धवृद्धाले भाषा समस्याका कारण आफ्नो अधिकार र सेवा सुविधा पाउन कठिनाइ भोगिरहनु भएको छ ।
हाउजिङ बेनिफिट, स्वास्थ्य सेवा लगायत विभिन्न सरकारी बेनिफिट कागजी प्रक्रिया भाषा र जानकारी अभावका कारण धेरैजना सेवासुविधा प्राप्त गर्नबाट वञ्चित भएको देखिन्छ। यस विषयमा काउन्सिल स्तरबाट सहयोग, अनुवाद सहायता र मार्गदर्शन अत्यावश्यक छ।
नेपाली युवाहरूमाझ के कस्ता समस्या देखिएका छन् ?
अन्तरक्रिया र अनुभवअनुसार हाम्रो समुदायका युवाहरू केही समस्याको चपेटामा पर्दै गएको देखिन्छ। केही मात्रामा लागूऔषध प्रयोग बढ्दै गएको, अनलाइन तथा क्यासिनो ग्याम्बलिङ को समस्या, भाषाका कारण रोजगारीमा समस्या,मानसिक स्वास्थ्यबारे खुल्न नचाहने प्रवृत्ति,आगामी दिनमा यी समस्यामा गम्भीर रूपमा छलफल गर्दै समाधानका कार्यक्रम र काउन्सिल स्तरको सहयोग ल्याउने योजना छ।
यहाँ नेपाली व्यवसायहरू बढ्दै गएका छन्। काउन्सिलले कसरी सहयोग गर्न सक्छ ?
युकेमा व्यवसाय गर्न स्पष्ट नियम तथा प्रक्रियाहरू छन्। तर हाम्रो समुदायका धेरै व्यवसायीहरूले रूल्स एण्ड रेगुलेशन, लाइसेन्सिङ, कागजात प्रक्रिया राम्रोसँग नबुझी व्यवसाय सुरु गर्ने गरेका कारण पछि गएर समस्या देखिन्छ। काउन्सिलर भइसकेपछि, मेरो मुख्य ध्यान यी कुरामा रहनेछ: व्यवसाय लाइसेन्सको प्रक्रिया सहज बनाउने, आवश्यक कागजातबारे स्पष्टता दिने,नियम उल्लङ्घन नहोस भनेर मार्गदर्शन गर्ने, पसल तथा व्यवसाय क्षेत्रमा चोरी तथा सुरक्षासम्बन्धी समस्याहरू समाधानमा सहयोग गर्ने। म अहिले औपचारिक काउन्सिलर नभए पनि समुदायका समस्याहरू समाधान गर्न सक्रिय भइसकेको छु।
तपाईं विजयी हुनुभयो भने नेपाली समुदायले के अपेक्षा गर्न सक्छ ?
नेपाली समुदायको समस्या बुझेर, काउन्सिलसँग समन्वय गर्दै समाधान खोज्ने मेरो पहिलो प्राथमिकता हुनेछ। विशेष गरी वृद्धवृद्धाका बेनिफिट, हेल्थ, हाउजिङका समस्या, युवाहरूलाई सही मार्गदर्शन तथा सुरक्षासम्बन्धी जागरण, समुदाय–ब्रिटिश संस्थाबीच समन्वय सांस्कृतिक कार्यक्रममार्फत नेपाली पहिचान संरक्षण, नेपालीहरूको आवाज काउन्सिलसम्म पुर्याएर व्यवहारिक समाधान निकाल्ने मेरो प्रमुख लक्ष्य हुनेछ।
नेपाली समुदायको समग्र समस्याबारे तपाईंको दृष्टिकोण के छ ?
अल्डरसट–फार्नबरो क्षेत्रलाई ‘मिनी नेपाल’ भनेर चिनिन्छ। यहाँका नेपाली अग्रजहरूले समुदाय निर्माणमा ठूलो भूमिका खेल्नुभएको छ र काउन्सिलरहरूले पनि निरन्तर साथ दिँदै आउनुभएको छ। अबको चुनौती भनेको ब्रिटिश समुदायसँग अझ राम्रो समन्वय गर्नु हो। हाम्रो नेपाली संस्कृतिको पहिचान, मूल्य, र परम्परा ब्रिटिश समुदायमा चिनाउन सकेमा उनीहरूको सहयोग पनि अझ प्रभावकारी रूपमा प्राप्त हुनेछ। त्यसैले, दुवै समुदायलाई एकसाथ जोड्ने कार्यक्रमहरू सञ्चालन गरेर इण्टिग्रेशन अझ मजबुत बनाउने मेरो योजना छ।
तपाईं तमू धिं युकेको महासचिव पनि हुनुहुन्छ। फुल टाइम कामसँग समय व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
समाजसेवा मनदेखि गर्न चाहे समय निकाल्न सकिन्छ भन्नेमा म विश्वस्त छु। तमू धिं युकेको महासचिव भए पनि मैले यो भूमिकालाई पूर्ण रूपमा समाजसेवा र जिम्मेवारीकै रूपमा लिएको छु। मेरो आफ्नै व्यवसाय छ। म हप्तामा चार दिन काम गर्छु, र एक दिन पूर्ण रूपमा काउन्सिल तथा नेपाली समुदायका लागि छुट्याउने निर्णय गरिसकेको छु। 'जहाँ चाहना, त्यहाँ उपाय’ भन्ने विश्वासका साथ मैले समय व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु।
|
|