Nepal UK
लन्डन - दोश्रो विश्व ध्यान दिवसको अवसरमा आइतबार लन्डनस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ।
जीवन विज्ञान युकेसंगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर संचालन गर्दै जीवन विज्ञान युकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफुतर्फ फर्कने अभ्यास नै ध्यान हो भनिन् ।
"दैनिक जीवनको भागदौडमा हाम्रो चित्त बाहिरतिर गैरहेको हुन्छ। शरीर, मन, भावना र चेतनालाई एक ठाउँमा नल्याउँदासम्म हामी शान्त हुन सक्दैनौं। आफुभित्र स्व-केन्द्रमा फर्केर मात्र खुसी, शान्ति, आनन्द र तृप्तिको अनुभूति गर्न सक्छौं," उनले भनिन् ।
प्रशिक्षक शर्माले कामदार पठाउने मुलुकको रुपमा नेपालको पहिचान बनी रहेको बेला गुरुदेवद्वय एलपी भानु शर्मा र रमेश नेपालको नेतृत्वमा जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र ध्यानको खजाना दिन सक्ने मुलुकको रुपमा नेपालको पहिचान बनाउने काम भैरहेको जनाइन् । उनले जीवन विज्ञान युकेद्वारा हरेक दिन बिहान भर्चुएल माध्यमबाट संचालन भैरहेको योग, प्राणायाम र ध्यान कक्षामा जोडिएर लाभान्वित हुन सबैलाई आग्रह पनि गरिन् ।
ध्यान सत्रलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले तन र मनलाई स्वस्थ र सन्तुलित राख्न र जीवनको अर्थ खोज्न योग र ध्यान अत्यावश्यक भएको जनाए । उनले २१ डिसेम्बरका दिन विश्व ध्यान दिवस घोषणा गर्न प्रस्ताव गर्ने मुलुकहरु मध्ये नेपाल पनि एक रहेको स्मरण गर्दै नेपालले योग र ध्यानको माध्यमबाट विश्वलाई नै योगदान दिन सक्ने बताए । "दूतावासमा हामीहरु समयको चापका बीच काम गरिरहेका हुन्छौं। त्यसैले शरीर र मन दुवै लाई सन्तुलनमा राख्नका लागि उपयोगी ध्यानका विधिहरु सिक्न हामी लालायित छौं," उनले भने । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न दूतावास तत्पर रहेको बताए ।
कार्यक्रममा प्रशिक्षक सरिता शर्माले जीवन विज्ञानको अवधारणा र जीवन विज्ञान युकेले गरिरहेका कामहरुबारे जानकारी गराउंदै नृत्य गर्दै, हाँस्दै, रमाउंदै स्वजागरण ध्यान विधि (नृत्य, नमस्कार प्राणायाम, हास्य प्राणायाम, बीज प्राणायाम र ध्यान) सिकाएकी थिइन् । जीवन विज्ञान युकेका ट्रष्टीहरु प्रेम खड्का, तुलसी पौडेल लगायत टाढाटाढाबाट आएका साधकहरु ध्यान सत्रमा सहभागी भएका थिए ।