Nepal UK
लन्डन - साउथ इष्ट रिजनल तमुधिं यूकेले गत आइतबार लण्डन प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा भव्य कार्यक्रमका साथ तमु ल्होछार मनाएको छ।
तमु समुदायको मौलिक भाषा, धर्म, संस्कृति र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको कार्यक्रममा स्थानीय तमु समुदायका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता गरेका साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष शिवराम गुरुङ बीईएम, प्रमुख अतिथि तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, स्थानीय ग्रीनवीच बरोका पूर्व मेयर जित रानाभाट, संस्थाकी संस्थापक आमा प्रमुख मायारानी गुरुङ, तथा डायमण्ड बुद्धिस्ट सेन्टरका पूजा प्रमुख लोप्पेन रामप्रसाद गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले तमुधिं यूके सबै तमुहरूको आस्था र विश्वासको साझा धरोहर बन्न सफल भएको भन्दै संस्थालाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
कार्यक्रममा तमु तथा नेपाली संस्कृति झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। नेपालबाट आमन्त्रित कलाकार केश गुरुङ र सलोमी गुरुङको विशेष सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकहरू नाचेका थिए ।
उपराष्ट्रपति र प्रधानमंत्रीले दिए शुभकामना
तमु समुदायको महान चाड, तमु ल्होछार, को सुखद अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमंत्री सुशीला कार्की लगायतका नेताहरुले शुभकामना दिएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होछारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गरे ।
नेपालका आदिवासी तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होछरको पावन अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरे ।
“यस दिनपछि दिन लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण सृजना हुने जनविश्वासले प्रकृति र जीवनशैलीबिच गहिरो सम्बन्ध उजागर गर्नमा यो पर्वले सहयोग पुग्दछ," उनले भने।
गुरुङ समुदायले पुष १५ गते पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने परम्परा छ । यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै सामुदायिक जीवनमा नवीन ऊर्जा थप्ने कार्य गर्दछ ।
राससका अनुसार यसै गरी आफ्नो शुभकामना संदेशमा अन्तरिम सरकारकी प्रधानमंत्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होछार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
“यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस्," उनले शुभकामना संदेशमा भनेकी छन्।
मौलिक भाषा, धर्म र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरूरी रहेकाले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता अध्यक्ष गुरुङले औंल्याए।