Tue, 10 June 2025
लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा पर्यटन प्रवर्धन सम्बन्धि कार्यक्रम ‘नेपाल नाइट’ आयोजना गरेको छ ।
नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्स सहभागी उक्त कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरुले आ–आफ्नो अनुभव समेत साटासाट गरेका थिए ।
गत शुक्रबार (६ जुन) सांझ आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र समृद्ध ऐतिहासिक कलाकृतिको अनुभव गर्न नेपाल भ्रमण गर्न अनुरोध गरे ।
राजदूत घिमिरेले नेपाल धेरै आश्चर्यजनक चीजहरु उत्खनन गर्न पर्खिरहेको उल्लेख गर्दै बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्बन्धबारे पनि प्रकाश पारे ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्यटनको पुरुत्थानका लागि नेपाल सरकारका नीतिबारे प्रष्ट पारे ।
नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटनको प्राकृतिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक आयामहरूमाथि प्रकाश पार्दै स्थानीय समुदायको उत्थान र नेपाललाई अद्वितीय बनाउने सम्पदाहरुको संरक्षण गर्न दिगो र जिम्मेवार पर्यटनका लागि आफुहरुले काम गरि रहेको बताए ।
सो अवसरमा वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष संयुक्त श्रेष्ठले काठमाडौं उपत्यकाको कला, सांस्कृतिक सम्पदा, मिथक र वास्तविकता, डा. एमी फ्रीज मरिसले बाघ र अन्य वन्यजन्तुहरूको संरक्षणका लागि नेपालको अनुकरणीय प्रयास र कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले आरोहण अनुभव एवं हिमालमा उद्धार कार्य सम्बन्धी अनुभव प्रस्तुत गरे ।
मंगल धुनबाट शुरु कार्यक्रममा कलाकारहरु अस्मिता थापा मगरको कुमारी नृत्य, संयोग जिसीको खुकुरी डान्स, राजदेव, पारु, रुपा र निसुको साकेला, ममता श्रेष्ठको ‘नेपालकी छोरी हुं म...’ गीतमा नृत्य, रिना थापामगरको झ्याउरे डान्स अनि सामूहिक ‘रेशम फिरिरि...’ ले सांझ नेपालमय बनाएको थियो ।
दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको कार्यक्रममा आफ्नो कथा सुनाउने वक्ताहरुलाई राजदूत घिमिरे र पर्यटन बोर्डका सिइयो जोशीले प्रशंसापत्र प्रदान गरेका थिए ।