Aama Ghar

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई  न्यूयोर्कमा प्रदान गरियो 'ग्लोबल हिरो अवार्ड'

Nepal UK

Nepal UK

Mon, 28 July 2025
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई  न्यूयोर्कमा प्रदान गरियो 'ग्लोबल हिरो अवार्ड'

फोटो : सन्तोष शर्मा, न्यूयोर्क)

न्यूयोर्क - हामी नेपाली ग्लोबल संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद  ज्ञानेन्द्र शाहीलाई  'ग्लोबल हिरो अवार्ड' प्रदान गरेको छ।

घिसिङ र  शाहीको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताए।  

अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले १८ घण्टासम्म  लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे।  "जहाँ बत्ती नै थिएन  त्यहाँ पनि पुरायौं।  अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ।  प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं।    व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ," उनले भने।   एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा 'उज्यालो नेपाल' अभियान सुरु गरेको उनले जनाए।

"सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन,  रोजगारी ल्याउन र निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको छु।  तपाईं सबैको साथको लागि अनुरोध गर्छु,"   घिसिङले भने। "आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ।"

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश,  विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरीबतम मुलुकको रुपमा चिनिएको तर   यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए। " तपाईंहरुको सीप र  क्षमतालाई शक्तिमा बदल्नु छ।  एक पटक नेपाल फ़र्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौं," उनले भने।  उनले कुलमान घिसिङ एक कुशल प्रबन्धक मात्र नभएर उज्यालो नेपालका नायक पनि हुन् भन्दै नेपालमा हरेक क्षेत्रमा त्यस्ता नायक चाहिएको बताए।  

सांसद शाहीले  वंशजको नागरिकता खारेज गर्न पाईदैन भन्दै उनले  एक पटक देश बनाउन आत्मा साक्षी राखेर अगाडी बढ्न पनि आह्वान गरे।  "मैले पनि राजनीतिमा प्रवेश गर्छु भनेर सोचेको थिइन।  तर  पोखरीमा  फोहर छ भनेर डिलमा बसेर हेर्ने होइन, पोखरी सफा गर्न  त्यहाँ भित्र छिर्ने पर्छ," उनले भने।  


चर्चित गायिका आनी छोइंग ड्रोल्माले यो संस्थाले देश विदेश जहाँ रहे पनि आफ्नो देश र समाजको उन्नतिको लागि योगदान गर्ने नेपालीहरुलाई सम्मान गरेर हौसला बढाएको बताइन् ।  उनले नेपालको उन्नतिमा हातेमालो गर्न सबैलाई आग्रह गरिन्।

हामी नेपाली ग्लोबलका  अध्यक्ष अमृत लामा, उपाध्यक्ष सुनिता खत्री लगायतले अवार्ड प्रदान गरेका थिए।  कार्यक्रममा सांगीतिक प्रस्तुतिका साथै  खेलकुद, संगीत, व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान पुराउने गैर आवासीय तथा नेपाली अगुवाहरुलाई सम्मान गरिएको थियो।

राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले 'हाम्रो नेपाली  ग्लोबल' स्थापना गरिएको उक्त संस्थाले जनाएको छ।