Aama Ghar

खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित

Nepal UK

Nepal UK

Mon, 15 December 2025
खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित

काठमाडौं – गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६० प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः नौ दशमलव १० र तीन दशमलव ६५ प्रतिशत रहेको थियो।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकको औसत मुद्रास्फीति एक दशमलव ५३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५९ प्रतिशत रहेको थियो। गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव २५, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ६१ र दुग्ध पदार्थ तथा अण्डाको एक दशमलव ९७ प्रतिशतले बढेको छ। तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४ दशमलव ४३, मरमसलाको सात दशमलव ८५ र दाल तथा गेडागुडीको पाँच दशमलव ३६ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव १७, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ।