Aama Ghar

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

Nepal UK

Nepal UK

Mon, 12 January 2026
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

काठमाडाैं – खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ। आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानजकारी दिए। 

राईका अनुसार आगो फैलिँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत ठप्प पारिएको छ। उनका अनुसार नाकासँग जोडिएको लिपिङ र तातोपानीलगायत आसपासका क्षेत्रको आकाश धुँवा र खरानीले ढाकिएको तथा आगलागीले सीमा क्षेत्रको सञ्चार तथा नेटवर्क सेवासमेत प्रभावित भएको छ।

गतवर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको थियो। तर, अहिले तातोपानी नाकासमेत बन्द भएपछि करोडौँ मूल्यका आयातित सामान बोकेका कन्टेनर रोकिएका छन्। नाका कहिले खुल्ने भन्ने टुङ्गो नलाग्दा व्यवसायी र आयातकर्ता थप सङ्कटमा परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए।