Nepal UK
काठमाडौँ — काठमाडौँ महानगरपालिका (कामपा) ले आगामी कात्तिक (नोभेम्बरको मध्य) सम्म डेंगु सङ्क्रमणको जोखिम उच्च रहने भएकाले नागरिकहरूलाई थप सचेत रहन आग्रह गरेको छ। पछिल्लो समय कामपाका ३२ वटै वडामा डेंगुका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र यसले महामारीको रूप लिन सक्ने भन्दै महानगरपालिकाले सबैलाई जिम्मेवार बन्न आह्वान गरेको हो।
कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार डेंगु नियन्त्रणका लागि स्थानीय वा केन्द्रीय सरकारको प्रयास मात्र पर्याप्त छैन, यसको लागि प्रत्येक नागरिकले घरघरबाटै पहल गर्नुपर्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार नेपालभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,००० नाघिसकेको छ, जसमध्ये ३,७२७ जना काठमाडौँ उपत्यकाकै रहेका छन्। ललितपुरमा सबैभन्दा बढी १,८३२ जना सङ्क्रमित पुष्टि भएका छन् भने काठमाडौँ जिल्लामा ८८८ जना सङ्क्रमित छन्।
स्वास्थ्य विज्ञहरूले वर्षा र मनसुनका कारण लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बनेको र चिसो बढेसँगै सङ्क्रमण दर घट्ने अनुमान गरेका छन्।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउन महानगरपालिकाले विविध अभियानहरू सञ्चालन गरिरहेको छ। स्वास्थ्यकर्मी, स्वयंसेवक र सरसफाइ कर्मचारीहरूको टोलीले घरघरमा र सार्वजनिक स्थानहरूमा पानी जम्ने ठाउँको सरसफाइ गर्ने र लार्भा खोजेर नष्ट गरिरहेका छन्।
साथै, माइकिङ र लाउडस्पीकरमार्फत तथा विद्यालयमा पुगेर बालबालिकामार्फत डेंगु नियन्त्रणका लागि सचेतना फैलाइँदैछ। डेंगुका बिरामीहरूका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा आवश्यक औषधि (सिटामोल, जीवनजल) उपलब्ध गराइएको छ र अस्पताल जानका लागि नि:शुल्क एम्बुलेन्स सेवा (नम्बर १०२) को व्यवस्था समेत गरिएको छ।
भुसालका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने गर्छ र यो ग्रामीणभन्दा सहरी क्षेत्रमा बढी सक्रिय हुन्छ। यो लामखुट्टेले विशेषगरी सफा पानी जम्ने जथाभावी फालिएका बोतल, टिनका भाँडा, थोत्रा टायर, गमला र पानी ट्याङ्कीजस्ता ठाउँमा अण्डा पार्छ। त्यसैले, घरभित्र र वरपर पानी जम्न नदिनु नै यसको रोकथामका लागि सबैभन्दा महत्वपूर्ण उपाय हो।
(रासस)