Aama Ghar

कन्सल्टेन्सी सञ्चालन गरी २६ लाख ठगी गर्ने एक जना प्रहरीको फन्दामा

Nepal UK

Nepal UK

Wed, 24 December 2025
कन्सल्टेन्सी सञ्चालन गरी २६ लाख ठगी गर्ने एक जना प्रहरीको फन्दामा

काठमाडौं – काठमाडौंको लैनचौरमा  युरो एशिया एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक अध्ययनको नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा घर भई बानेश्वर बस्न ३५ वर्षीय सूर्य बहादुर डाँगी रहेका छन्। 

प्रहरीका अनुसार डाँगीले उच्च शिक्षा अध्ययनका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत देशहरूमा पठाइदिने भन्दै कलेज शुल्क तथा इन्स्योरेन्स पोलिसी भुक्तानी इन्टरनेशनल डलर कार्ड मार्फत गर्दा छिटो र सहज हुने आश्वासन दिने गरेका थिए।

सोही बहानामा उनले आफ्नै कम्पनीको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाई सम्बन्धित विश्वविद्यालय तथा इन्स्योरेन्स कम्पनीमा भुक्तानी गरेको कुनै प्रमाण नदिई पीडितहरूलाई झुटो आश्वासन देखाई विश्वासमा पारी ठगी गरेको पहरीले जनाएको छ। उनले झुटो आश्वासन देखाई विश्वासमा पारी  २६ लाख  ठगी भएको बताइएको छ।

उनीमाथि परेको उजुरीका आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले डाँगीलाई लैनचौरबाट  पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।