Aama Ghar

कुलतविरुद्ध युवालाई सही दिशामा डोर्‍याउँदै तमु धीं यूके

Nepal UK

Nepal UK

Fri, 23 January 2026
कुलतविरुद्ध युवालाई सही दिशामा डोर्‍याउँदै तमु धीं यूके

बेलायत-  बेलायतमा बसोबास गर्ने नेपाली युवाहरूलाई कुलतबाट जोगाउँदै सकारात्मक जीवनशैलीतर्फ डोर्‍याउन तमु धीं यूकेले पछिल्लो समय प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी अल्डरसट क्षेत्रमा देखिएको युवाहरूको चुनौतीलाई मध्यनजर गर्दै संस्था सक्रिय रूपमा मार्गदर्शन, परामर्श र सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङका अनुसार, युवाहरू गलत संगत र कुलतमा फस्नु केवल व्यक्तिगत समस्या मात्र नभई समग्र समुदायको भविष्यसँग जोडिएको विषय हो। “युवाहरूलाई सही बाटो देखाउनु आजको सबैभन्दा ठूलो समाजसेवा हो,” अध्यक्ष गुरुङ भन्छन्, “हामी कुनै जाति वा समुदायमा सीमित नभई बेलायतमा रहेका सम्पूर्ण नेपाली युवाहरूको हितका लागि काम गरिरहेका छौं।”
नेपाल युके डटकमसँगको कुराकानीमा अध्यक्ष गुरुङले तमु धीं यूकेले वार्षिक मात्र होइन, दीर्घकालीन योजनासहित सामाजिक, सांस्कृतिक र मानवीय कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए। उनले बेलायतमा मात्र नभई नेपालमा पनि संस्थाको सक्रिय उपस्थिति रहेको उल्लेख गरे।
तमु धीं यूकेका महासचिव डा विशाल गुरुङको नेतृत्वमा प्रत्येक वर्ष नेपालमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै आएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका सर्वसाधारणलाई लक्षित यस्ता कार्यक्रमले सयौँ नागरिक लाभान्वित हुँदै आएका छन्। त्यस्तै, नेपालमा भएको जेन्जी आन्दोलनपछिको संवेदनशील अवस्थामा पनि तमु धीं यूकेले मानवीय सहयोग गरेको अध्यक्ष गुरुङले बताए।
अध्यक्ष गुरुङका अनुसार, तमु धीं यूके अल्डरसटमा स्थापित, विश्वासिलो र सम्मानित सामाजिक संस्था हो। पछिल्लो समय बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा तीव्र सामाजिक परिवर्तन देखिएको र त्यसअनुसार संस्थाहरूले पनि जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।
 
सेवा र नेतृत्वको यात्रा
जुमकाजी गुरुङको जन्म वि सं २०१८ सालमा नेपालको साबिक धौलागिरी अञ्चल, पर्वत जिल्ला अन्तर्गत भुक्कताङ्ग्ले गाउँमा भएको हो। पिता स्व सुनार गुरुङ र माता मनसुवा गुरुङका सुपुत्र गुरुङ दुई दिदीपछि जन्मिएका थिए भने परिवारमा एक बहिनी पनि छन्। मायालु पारिवारिक वातावरणमा हुर्किएका उनले प्रारम्भिक शिक्षा गाउँकै सिद्ध प्राथमिक विद्यालयबाट सुरु गरे।
पछि परिवारसहित पोखरा रामबजार बसाइँ सरेर जनप्रिय निम्न माध्यमिक विद्यालय तथा अमरसिंह माध्यमिक विद्यालयमा अध्ययन गरे। वि सं २०३५ सालमा एसएलसी उत्तीर्ण गरेपछि गुरुङहरूको परम्परा पछ्याउँदै वि सं २०३६ सालमा ब्रिगेड अफ गोर्खाजमा भर्ती भए।
ब्रुनाईको कठोर र गर्मीपूर्ण वातावरणमा कडा रिक्रुट तालिम सफलतापूर्वक पूरा गरी उनले क्विन्स गोर्खा इन्जिनियर्समार्फत हङकङमा सेवा सुरु गरे। सन् १९८४ मा वैवाहिक जीवनमा बाँधिएका गुरुङले करिब १८ वर्षसम्म ब्रिटिश सेनामा सेवा गरेपछि सन् १९९७ मा अवकाश लिए।
सेवाकालीन तथा सेवापछि उनले हङकङ, ब्रुनाई, फिजी, मलेसिया, बेलिज, अमेरिका, क्यानडा, केन्या, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेल्जियम, फोकल्यान्ड आइल्यान्ड्स, एसेन्सन आइल्यान्ड र साइप्रससहित झण्डै २० देश भ्रमण गर्ने अवसर पाए।
 
अवकाशपछि पनि समाजसेवामा निरन्तर सक्रिय
सेनाबाट अवकाशपछि गुरुङ काम, परिवार र समाजसेवामा निरन्तर समर्पित रहँदै आएका छन्। सन् २००६ मा पिता स्व। सुनार गुरुङको निधनपछि घरपरिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आमालाई १४ वर्षसम्म बेलायतमै स्याहारसुसार गरे। सन् २०२० मा आमाको निधन हुँदा परिवारले ठूलो पीडा व्यहोर्नुपर्‍यो। हाल उनको परिवारमा श्रीमती कमला गुरुङ, छोरा, छोरी, ज्वाइँ, नाति र नातिनी रहेका छन्।
 
लामो समयदेखि तमु धीं यूकेमा सक्रिय रहँदै आएका गुरुङको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाले आफ्नो २५ वर्षे इतिहासमै पहिलो पटक ‘तमु आदर्श अवार्ड’ प्रदान गरेको छ। उनी हाल तमु धीं यूके बाहेक एक दर्जनभन्दा बढी संघ–संस्थामा आबद्ध छन्।
उनी ताङ्ग्ले समाज यूकेका अध्यक्ष, रामबजार सोसाइटी यूकेका भूपू अध्यक्ष, तमु फोरम यूकेका कोषाध्यक्ष, लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपालका संरक्षक, गुरुङ साहित्य मञ्च नेपालका सदस्य, तमु संसार यूकेका प्रयोजक, एनआरएनए यूके, ग्रेटर रशमोर नेपाली कम्युनिटी, तमु कलाकार संस्कृति मञ्च यूके तथा सहारा यूकेका सल्लाहकारसमेत रहेका छन्।