Nepal UK
लन्डन - अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत आइ पुगेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लन्डनमा भव्य स्वागत गरिएको छ ।
उनलाई सोमबार हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमु धिं युके लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए।
सोमबार बेलुका उनलाई तमु धिं युकेले मिचेटस्थित आफ्नै भवनमा पाइपर बजाउँदै स्वागत गर्यो।
उनलाई हलभित्र तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले फेटा लगाएर सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले तमुधिं यूकेको सम्मान र मेलामा आतिथ्यप्रति आभार व्यक्त गरे । नेपाललाई संसारभर गोर्खाज् भनेर चिनाउने समुदायमाझ उभिन पाउंदा आफू गौरवान्वित भएको बताउंदै उनले झण्डै २० वर्षपछि यूके आउंदा पाएको माया र सद्भावप्रति आभार व्यक्त गरे ।
उनले आफूले ३० वर्ष विद्युत क्षेत्र र ८ वर्ष कार्यकारी भूमिकामा काम गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको उल्लेख गरे।
कार्यकारी निर्देशकको रुपमा आफ्नो झन्डै आठ वर्ष लामो कार्यकालमा लोडसेडिङ अन्त्यका साथै झन्डै शतप्रतिशत जनतामा बत्तीको पहुंच पुग्नु ठूलो उपलिब्ध ठानेको उनले बताए । राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर पनि नतिजा दिन सकिएको उनले बताए ।
‘चार महिना कार्यकाल बांकी छंदै कार्यसम्पादन मूल्यांकनमा शून्य दिएर सरकारले मलाई बर्खास्त गरेपनि देशविदेशबाट सम्मान, माया सद्भाव पाएको छु त्यही नै मेरो सम्पत्ति हो,' घिसिङले भने। उनले अहिले उज्यालो नेपाल अभियान लिएर प्रवासमा रहेका नेपालीलाई पनि जोड्न भ्रमणमा निस्किएको बताए।
उज्यालो नेपाल अभियानको मुख्य उद्देश्य नेपालमा समृद्धिको खाका कोर्ने, दोस्रो देशविदेशमा नेटवर्किङ विस्तार र तेश्रो राम्रो पोलिटिकल लिडरसीप टिम जन्माउने रहेको उनले प्रष्टयाए ।
यो अहिले नै पार्टी नभएको बताउंदै उनले अभियानमा साथ र सहयोगका लागि सबैलाई आग्रह गरे । ‘भविष्यमा तपाईंहरुको विश्वासघात नगरि अगाडि बढ्नेछु’, उनले भने ।
कार्यक्रमका सभापति तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले घिसिङले शुरु गरेको उज्यालो नेपाल अभियानको सफलताको कामना गर्दै देशलाई उज्यालोतर्फ अघि बढाउने उनको आकांक्षा साकार बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले घिसिङले कार्यक्रम संचालन गरेका थिए ।
बेलायतमा व्यस्त कार्यक्रम
बेलायतमा एनआरएनए युकेका दुवै समूहले घिसिङसंग छुट्टाछुट्टै अन्तरक्रिया गर्न लागेका छन्। राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेले शुक्रबार (१५ अगष्ट) दिउँसो प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा अन्तरक्रिया राखेको छ भने सोही दिन साँझ प्रेम गाहा मगरले नेतृत्व गरेको एनआरएनए युकेले अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम राखेको छ । उनलाई सोही अवसरमा नागरिक अभिनन्दन पनि गरिने छ । उनी २४ अगष्टमा तमु धिं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाको रुपमा सहभागी हुनेछन् । त्यस्तै उनले स्कटल्याण्डको भ्रमण गर्नुका साथै विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्। उनले युरोपका केही मुलुकहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
यस अघि अमेरिकामा रहंदा घिसिङले टेक्सास, मिशिगन, वाशिंगटन डिसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भै प्रवासी नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए। न्युयोर्कमा उनी लगायत अन्य अभियन्ताहरुलाई हामी नेपाली ग्लोबल संस्थाले 'ग्लोबल हिरो अवार्ड' ले सम्मान गरेको थियो। उनले न्युयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए। त्यस्तै उनले बोस्टनमा नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुसंग पनि छलफल गरेका थिए।
युरोप र अमेरिकाको झन्डै एक महिना लामो भ्रमण पछि उनी अगष्ट महिनाको अन्तिम साता नेपाल फर्कने छन्।