Nepal UK
हेटौंडा — जनरल ‘जेन जी’ आन्दोलनमा सक्रिय भएको आरोपमा विवादमा आएका एक व्यक्तिमाथि हेटौंडामा खुकुरी प्रहार भएको छ। सोमबार साँझ करिब ६ बजे हेटौंडा उपमहानगरपालिका–१० स्थित फरेष्टीगेट अगाडि भएको यस घटनामा मकवानपुरगढी गाउँपालिका–५ निवासी अन्दाजी ३४/३५ वर्षका प्रेम घिमिरे घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार घिमिरेको अवस्था मध्यम रहेको छ। प्रारम्भिक उपचारपश्चात् उनलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ।
यस घटनालाई लिएर स्थानीयहरूबीच विभिन्न कुराहरू बाहिर आएका छन्। केही स्थानीय बासिन्दाका अनुसार घिमिरेको आन्दोलनप्रतिको सक्रियतालाई लिएर केही व्यक्तिहरूसँग विवाद भएको थियो। खुकुरी प्रहार गर्ने व्यक्ति सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेको दाबी पनि केहीले गरेका छन्।
यद्यपि, प्रहरीले भने यस आरोपको आधिकारिक पुष्टि गरेको छैन। प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान र पक्राउका लागि खोजी कार्यलाई तीव्र पारेको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।