Aama Ghar

इनास युकेको घोषणा सभा भव्य रुपमा सम्पन्न

Nepal UK

Nepal UK

Wed, 29 October 2025
इनास युकेको घोषणा सभा भव्य रुपमा सम्पन्न

लन्डन - अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेले आइतबार आफ्नो छैठौं घोषणा सभा तथा दशैं तिहार सांस्कृतिक कार्यक्रम भव्य रुपमा मनाएको छ।
उलिचस्थित ट्रामशेड थियटरमा आयोजित समारोहको सुरुमा नेपाली जनताको स्वतन्त्रता, समानता, राष्ट्रियता  र लोकतन्त्रका लागि प्राण अर्पण गर्ने सहिदहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो भने नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु गाइएका थिए।  
समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका  कार्यवाहक राजदूत बिपिन दुवाडीले बेलायतस्थित नेपाली डायस्पोरा  अत्यन्त सक्रिय र नेपाललाई  अत्यन्तै माया गर्ने समुदायको रुपमा पाएको बताए ।  उनले नेपालमा हालै भएका घटना पछि  नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न बेलायतस्थित नेपाली समुदाय तथा संघ संस्थालाई आग्रह गरे ।  उनले यसबारे थप जानकारी नेपाली दूतावासको वेबसाइटमा रहेको जानकारी दिंदै प्रवासमा नेपाली कला संस्कृति र सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्न इनास युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे ।
निर्वाचन समितिका संयोजक हेमन्त सेढाइंले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए । इनास युकेका संस्थापक तथा  इनास ग्लोबलका  पूर्व उपाध्यक्ष मनीष श्रेष्ठले सबैलाई स्वागत गरे  भने सचिव दीप गिरीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदूत बिपिन दुवाडी, एनआरएनए आइसीसीका  पूर्व अध्यक्ष कुल आचार्य,  एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी तथा निर्वाचन समितिका सदस्य राजु न्यौपानेले २०२५-२७ कार्यकालको लागि निर्वाचित इनास युकेका साथै राज्य समितिहरु इंगल्याण्ड,  स्कटल्याण्ड तथा वेल्स कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई  प्रमाणपत्र प्रदान गरेका थिए ।  
त्यस्तै, उक्त समारोहमा वरिष्ठ कलाकार सनम बैराग, समाजसेवी हरि कार्की, साहित्यकार तथा समाजसेवी डा बच्चुकैलाश कैनी, भिडियोग्राफर सुमन श्रेष्ठ,  चितवन समाज युकेका अध्यक्ष राजु आचार्य, अन्तरराष्ट्रिय धादिंग समाजका अध्यक्ष राजन खकुराल, नेवा संस्कृति अभियन्ता बिनोद चिपालु, इनास युकेकी पूर्व अध्यक्ष रजनी सुनुवार, पत्रकार भगीरथ योगी, लेखक श्रीभक्त खनाल, व्यवसायी बिकाश नेपाल, पासा पुच गुथी युकेका अध्यक्ष सुशील प्रजापति, प्रतिभा नक्षत्र बेलायतका अध्यक्ष कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।  यसै गरी चलचित्र निर्देशक प्रदीप शाही, क्रिकेट अभियन्ता  भुवन गिरी, वरिष्ठ गायिका शर्मिला बर्देवा, चलचित्र निर्देशक संयुक्त श्रेष्ठ, खेलकुद क्षेत्रमा पुराएको योगदानका लागि सिद्धार्थ बिक्रम क्षेत्री तथा सुरज कार्की, सबिना श्रेष्ठ, गायक  राजेश बर्देवा, इनास वेल्सका अध्यक्ष रामदत्त मिश्र लगायतलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको दोश्रो चरणमा दशैं तथा तिहारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित गायिका शर्मिला बर्देवाले ' आगो लाग्यो दिलैमा दमकल बोलाइ देउ" लगायतका लोकप्रिय गीतहरु सुनाएकी थिइन्  । यसै गरी  'नेपाल स्टार' प्रतियोगिताको पहिलो सिजनका विजेता निशान बराल, राजेश बर्देवा, सर्बेन्द्र अधिकारी, निष्चल अधिकारीले  गीतहरु  सुनाए भने  अभिषेक गौतमले  विभिन्न तालमा मादल  बजाएर दर्शकको मन जितेका थिए ।  कार्यक्रममा कल्चरल र्याम्प वाक गरिएको थियो भने  सबिना श्रेष्ठ, रोहिणी भण्डारी, निशा श्रेष्ठ , समीक्षा खरेल, पुष्पा कार्की लगायतका कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए । सांस्कृतिक कार्यक्रमको संचालन राजेश बर्देवाले गरेका थिए ।