Nepal UK
Photos: NepalUK Original
केशवराज खनाल —
नेपाललाई संसारले विविधताको देश भनी चिनिन्छ । हिमाल, पहाड र तराईको त्रिवेणीले मात्र होइन, यहाँका भाषा, जाति, संस्कृति, परम्परा र जीवनशैलीले पनि यो देशलाई अनुपम बनाएको छ । यही विविधता कला–संस्कृतिमा अझ गहिरो रूपमा प्रतिबिम्बित हुन्छ । काठमाडौ उपत्यकामा विकसित परम्परागत थांका र पौभा चित्रकला, मिथिला क्षेत्रमा प्रस्फुटित मिथिला कला, थारु समाजको जीवित कला अभिव्यक्ति, अनि पछिल्ला दशकमा बढ्दै गएको आधुनिक तथा समसामयिक कला, यी सबैले नेपाललाई बहुरंगी कलाको देश बनाएका छन् ।
यही कलात्मक विविधतालाई एउटै छत मुनी ल्याउने उद्देश्यले ‘हिमालयन नाउ’ शीर्षकमा प्रदर्शनी सम्पन्न भएको छ । ठमेलस्थित द आर्ट सलुनमा भदौ ६ गतेदेखि सुरु भई भदौ २४ सम्म सञ्चालनमा रहेको यो प्रदर्शनीमा पाँच जना फरक–फरक शैली र माध्यममा काम गरिरहेका कलाकारका ३२ थान कलाकृति राखिएका थिए ।
नेपालमा कला प्रदर्शनी गर्ने परम्परा नयाँ होइन । उपत्यकाका मन्दिर र देवालय स्वयं कलाका खुला संग्रहालय नै हुन् । देवताका मूर्ति, पौभा चित्र, गजुर, तोरण आदिले नेपाली समाजलाई सौन्दर्य र आस्था दुवै दिन्छन् । तर आधुनिक अर्थमा कला ग्यालरीको विकास भने २०औँ शताब्दीको उत्तराद्र्धतिर मात्र भयो । कलाको विशिष्ठतालाई ग्यालरीले अझ माथी उठाउन मद्यत गर्छ र कलाकार र कला पारखीलाई एक स्थानमा ल्याउन सेतुको काम गर्ने गर्छ । यसै सिलसिलामा यो प्रदर्शनी नेपाली कलाको विविधता खोज्ने दर्शकका लागि एक सुन्दर स्थल बन्ने प्रयास गरेको देखिन्थ्यो ।
प्रदर्शनीका संयोजक उमेश श्रेष्ठका शब्दमा, “यो प्रदर्शनीको उद्देश्य विविध धारका कलाकारलाई एउटै प्लेटफर्ममा ल्याउनु हो ।” यही कारण यसलाई ‘हिमालयन नाउ’ नाम दिइएको हो । नेपालका हिमालजस्तै उच्च र बृहत्तर दृष्टि, तर समसामयिक समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने योजनाका साथ यो नामलाई जोडेको श्रेष्ठ बताउछन् ।
प्रदर्शीत ३२ थान कलाकृतिहरू पाँच कलाकारका फरक दृष्टि र माध्यमका प्रतिनिधि हुन् । कसैले धार्मिक प्रतीकलाई आधुनिक चेतनासँग जोडेका छन्, कसैले मिथिलाको रंगीन परम्परालाई नयाँपन दिएका छन्, कसैले बौद्ध थांकाको परम्परालाई बालुवामा उतारेका छन् भने कसैले स्टेनलेस स्टिलमा आधुनिक मूर्ति कोरेका छन् । समग्रमा यो प्रदर्शनीले नेपाली लोककलाका साथै परम्परागत कला र आधुनिक÷ समसामयिक कलालाई एकै स्थलमा पस्किने कोशिस गरेको देखियो ।

प्रदर्शनीमा उमेश श्रेष्ठको फरक फरक विषय र शैलीलाई नियाल्न सकिन्छ । श्रेष्ठ प्रदर्शनीका संयोजक मात्र होइन, कलाकारहरुलाई एकै स्थानमा ल्याउने योजनाकार पनि हुन् । उनका आठवटा कलाकृति प्रदर्शनीमा सजिएका थिए । लामो समय देखि घण्टीलाई विषय बनाउदै आएका श्रेष्ठले केवल धार्मिक विषय वस्तु मात्र होइन प्रेमको एक स्वरुप ‘फ्रिजिङ भ्यालेनटाइन’ चित्रमा पोखेका छन् । जसमा आफ्नो पूर्व प्रेमीको पर्खाइमा फुल लिएर बसिरहेकी प्रेमिकाको चोखो मायाको कथा बुनेका छन् ।
श्रेष्ठका ‘द होली किस’, ‘लिभिङ गडेस’, ‘बिट्विन डिभोशन एण्ड सर्कल’ जस्ता चित्रमा धार्मिक प्रतीक र आधुनिक चेतना एकसाथ मिसिएका छन् । यी चित्रहरूले समाजमा आस्था र विवेकबीचको द्वन्द्वलाई कलात्मक रूप दिएका छन् ।

राखी कर्णका १० वटा चित्र मिथिला शैलीका सुन्दर सृजना हुन् । मिथिला कला सामान्यतया महिलाका हातमा फस्टाउँछ, जसले जीवनका हरेक पक्षलाई रंगीन रेखामा उतार्छ ।
उनका कृतिहरूमा विष्णुलोक, दशावतार, भगिरथ गंगा, छिन्नमस्ता जस्ता पौराणिक कथा छन् । तर यी कथा केवल धार्मिक अनुष्ठान नभई नारी दृष्टिकोण र समसामयिक सन्दर्भसँग जोडिएका छन् । मिथिला शैलीमा प्रयोग हुने चम्किला रंग र सूक्ष्म रेखाले उनको सिर्जनालाई जीवन्त बनाएका छन् ।
शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ वटा चित्र प्रस्तुत गरेकी थिइन् । उनका कृतिहरूमा माछा, मयुर, कृष्ण बाललिला, दशावतार आदि छन् । उनका कलामा प्रकृति र धार्मिक कथा दुवै मिसिएका छन् । मिथिला कलामा प्रायः पुनरावृत्ति हुने शैलीलाई उनले आफ्नो शैलीमा समसामयिक सन्देश भर्ने प्रयास गरेकी छन् ।

छेपल दोर्जे शेर्पा विशेषतः थांका कलाकार हुन् । उनले काठको फ्ल्याकमा रंगीन बालुवा प्रयोग गरेर हरित तारा मण्डला तयार पारेर दर्शकका आँखालाई लोभ्याउने प्रयास गरेका थिए ।
मण्डला परम्परागत रूपमा ध्यान र साधनाको प्रतीक हो । त्यसलाई बालुवामा उतार्नु चुनौतीपूर्ण काम हो, तर उनले थांका कलाको सौन्दर्यलाई बालुवा जस्तो खस्रो वयनयुक्त माध्यममा प्रस्तुत गरेर दर्शकलाई अचम्मित पारे । यसले परम्परागत बौद्ध कलामा नयाँ प्रयोगको ढोका खोलिएको रुपमा पनि बुझ्न सकिन्छ ।
मुर्तिकार कुमार थापाका दुई मूर्तिहरू (स्टेनलेस स्टिलबाट बनेका) थिए । बबल्स शिर्षकका उनका मुर्तिहरु सरल छन् तर यसको सृजनापक्ष र चेतना पक्षले उनको कलालाई फरक बनाएको छ ।
यस प्रदर्शनीले एउटा कुरा प्रष्ट पार्छ भने नेपाल केवल एउटा कलाशैलीमा सीमित छैन । यहाँ थांका, पौभा, मिथिला, थारु, अवधी, आधुनिक, समसामयिक सबै प्रवाह एकसाथ बगिरहेका छन् । यही विविधता नै नेपालीपनको मूल आधार हो ।

अनेक शैली, अनेक माध्यम भए पनि तिनले व्यक्त गर्ने संवेदना एउटै हो । नेपाली कलाले कलाकारको शिल्प क्षमता मात्र नभई हाम्रो समाजको कुनामा लुकेको कथाहरुलाई पनि बोकेको हुन्छ । यीनै कथाहरुको श्रृङ्खलाको पहिलो खुड्किलोको रुपमा रहेको छ ‘हिमालयन नाउँ’ ।
कला केवल सिर्जना मात्र होइन, समाज र अर्थतन्त्रसँग पनि जोडिन्छ । मिथिला कला महिलाको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणसँग जोडिएको छ । थांका र पौभा पर्यटक आकर्षण बनेका छन् । आजको दिनमा अनेकन् विदेशीहरु इो कला सिक्न नेपाल आएको प्रसस्त उदाहरणहरु पाईन्छ । आधुनिक कला र मूर्तिकला अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारलाई चिनाउँदै छन् ।
तर, अझै पनि कला बजार कमजोर छ । कलाकारले सिर्जना गर्ने तर बेच्ने स्थान र अवसर कम छन् । ग्यालरीहरूको संख्यात्मक वृद्धि भए पनि कलाप्रेमीहरूलाई आकर्षित गर्ने कार्यक्रम सीमित छन् । हिमालयन नाउले यस कमजोरीलाई चुनौती दिने प्रयास गरेको थियो । तथापि भदौ २३÷२४ को आन्दोलनले अन्तिममा यो प्रदर्शनीलाई विथोल्न पुग्यो । छाया सेन्टरमा तोठफोडको प्रयास बीच सौभाग्यले कला दिर्घाका कलामा भने क्षति हुनबाट जोगिएको रहेछ । विस्तारै चलायमान बन्दै गरेको अर्थतन्त्रमा भदौको घटनाले पुन नेपाललाई दशकौ पछि पु¥याएको छ । नेपाली कला बढि पर्यटनसंग सम्बन्धित छ । पर्यटनको मौसम सुरुहुनु अघिको घटनाले यस वर्ष नेपालमा कति पर्यटक आउलान् त्यो सहजै अनुमान लगाउन सकिन्छ । यस प्रदर्शनीका साथै अन्य कला दिर्घाका कला प्रदर्शनीलाई पनि सो घटनाले निकै असर गरेको छ । यद्यपि कला क्षेत्र फेरी उठ्ने जमर्को गर्दैछ ।

चाडै राजनैतिक वातावरण सहज स्थानमा आउदाँ नेपाली कलाको भविष्य उज्ज्वल छ, यदि राज्य, संघ संस्था र समाजले उचित मूल्याङ्कन गर्न सकेको खण्डमा हाम्रो कलाले विश्व बजार तताउन सक्षम छ । कला शिक्षामा लगानी, प्रदर्शनीलाई अन्तर्राष्ट्रियकरण, कला–पर्यटनलाई प्रोत्साहन, र कलाकारलाई संरक्षण गर्न सके नेपाल कला–संस्कृतिको वैश्विक केन्द्र बन्न सक्छ । यस्ता कला कार्यक्रमले कलाकार र कला पारखी बीचको सम्बन्धलाई मजबुत त बनाउछ नै हाम्रो कलाको विविधतालाई पनि अगाडी ल्याउन मद्यत गर्छ ।
‘हिमालयन नाउ’ केवल पाँच कलाकारको प्रदर्शनी होइन । यो नेपालकै कला–संस्कृतिको विविधता, प्रयोगशीलता र भविष्यको कला यात्राको सानो गोरेटो बन्ने प्रयास पनि हो ।
उमेश श्रेष्ठका समसामयिक कला, राखी कर्ण र शुभाद्री शुभाका मिथिला चित्र, छेपल दोर्जे शेर्पाको बालुवा मण्डला, र कुमार थापाका स्टेनलेस स्टिलका मूर्तिहरू एउटै प्रदर्शनीमा भेटिँदा नेपाली कला केवल अतीतमा अडिएको छैन, भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको छ भन्ने सन्देश दिन्छ । तर यति भनिरहदाँ एउटा कुरा थप्न मन लाग्छ आगामी दिनमा आयोजकले अन्य नेपाली मौलिक कलाहरुलाई पनि क्रमशः समावेश गराउदै लैजान विर्सनु हुदैन ।

(लेखक कला लेखक÷ पत्रकार हुन् । नेपाल ललितकला पत्रकार समाजका संस्थापक अध्यक्ष हुन् ।)