Aama Ghar

हिल्टन होटलमा  भव्य रुपमा मनाइयो माघी

Nepal UK

Nepal UK

Sat, 17 January 2026
हिल्टन होटलमा  भव्य रुपमा मनाइयो माघी

लन्डन -  थारु कल्याणकारी सभा युकेको आयोजनामा नयाँ वर्ष २६४९  को स्वागत गर्दै माघी पर्व  भव्य रुपमा मनाइएको छ।

होटल हिल्टन गार्डेन इनमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको प्रबर्द्धन गर्न जुटेकोमा  थारु कल्याणकारी सभा युकेसंग आबद्ध युवाहरुलाई हार्दिक बधाई र धन्यवाद दिए।  उनले चार वर्ष पहिले बर्दियामा थारु होम स्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए।  उनले बेलायतस्थित  थारु लगायत सबै समुदायलाई सक्दो सहयोग गर्न दूतावास सधैं तयार रहेको जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले थारु समुदायमाथि ऐतिहासिक रुपमा शोषण र उत्पीडन गरिएको भए पनि अहिले थारु युवाहरु देश, विदेश पुगेर प्रगति गरिरहेको बताए।  उनले विदेशमा बसेर पनि आफ्नो समुदायको उत्थानका लागि सक्दो सहयोग गर्न आग्रह गरे।  उनले केही दशक अगाडीसम्म पनि कमलरी प्रथा जस्तो अमानवीय प्रथा व्यहोरेको समुदाय भएकाले आफ्नो इतिहास आफै लेख्न र स्वाभिमान कायम गर्न सुझाव दिए।

आफ्नो शुभकामना मन्तव्यमा बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ  योगीले राष्ट्र गानमा  “सयौं थुंगा फूलका हामी  एउटै माला नेपाली” भने झैं विभिन्न जातजाति भाषाभाषी मिलेर नेपाल बनेको बताए।  उनले अहिले नेपाल मेची महाकालीभित्र मात्र सीमित नरहेको भन्दै  जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ नेपाल पनि पुगेको जनाए।

कार्यक्रममा तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रि क्या डेमबहादुर गुरुङ,  किरात राइ यायोख्या युके तथा युरोपका विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए।  कार्यक्रममा ज्योति, जीना, रत्न, माया, सुष्म, सन्ध्या  लगायतका कलाकारले थारु नृत्य  प्रदर्शन गरेका थिए भने राकेश चौधरीले गीत सुनाए।  कार्यक्रममा अतिथिहरुलाई टोकन अफ लभ प्रदान गरिनुका साथै चिचर, ढीक्री, हाँसको मासु,  तारेको माछा, तिलको लड्डु  लगायत थारु परिकारले स्वागत गरिएको थियो।  

थारु कल्याणकारी सभा युकेका अध्यक्ष कवि कुसुम्याले बेलायतमा बसोबास गरिरहेका थारु समुदायका युवाहरुलाई एकजुट गरी थारु भाषा, संस्कृति  र पहिचानको प्रवर्द्धन गर्न कार्यक्रम आयोजन गरिएको जनाए।  उनले माघी पर्व को शुभकामना दिंदै सबै सहभागी तथा प्रायोजकहरुलाई धन्यवाद दिए।

कार्यक्रमको संचालन ओम थारु तथा ज्योति चौधरीले गरेका थिए।