Nepal UK
काठमाडौँ - निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली काँग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
शुक्रबार आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको रूपमा मान्यता प्रदान गरेको जानकारी दियो । यससँगै अब पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डाको प्रयोग पनि गगन थापा नेतृत्वको समूहले गर्न पाउने भएको छ ।
गत फेब्रुअरी १० देखि १३ तारिखसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट चयन भएका नयाँ पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूले बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गरी विवरण अद्यावधिक गर्न माग गरेका थिए ।
देउवा पक्षको आपत्ति
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ । देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।
शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं ।’
यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले शुक्रबार बिहान आयोगमा पुगेर आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निवेदन दिएका थियो । दुवै पक्षको दाबीपछि आयोगले आन्तरिक छलफल तथा कागजात अध्ययन गरी थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।