Aama Ghar

एसियाली बैंकले दिने २ मिलियन डलर अनुदान लिने सरकारको निर्णय

Nepal UK

Nepal UK

Fri, 23 January 2026
एसियाली बैंकले दिने २ मिलियन डलर अनुदान लिने सरकारको निर्णय

काठमाडौं – सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश आर्यालले उक्त जानकारी दिएको हो।

मन्त्रिपरिषद् बैठकले तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट)बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ। बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बङ्गलादेशकी पूर्वप्रधानमन्त्री गेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका परराष्ट्रमन्त्रीको बङ्गलादेश भ्रमण समर्थन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लािग प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए।

यस्तै, बैठकले नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाइ डिभिजन नं ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिएको छ। मन्त्रीपरिषद् बैठकले विसं २०८१ फागुन २७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई २०८१ फागुन २७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।