Aama Ghar

एनडीए यूकेद्वारा 'विन्टर च्यारिटी रन' मा सहभागिता

Nepal UK

Nepal UK

Mon, 15 December 2025
एनडीए यूकेद्वारा 'विन्टर च्यारिटी रन' मा सहभागिता

लण्डन – नेप्लिज  डक्टर्स एसोसिएसन यूके (एनडीए युके) ले सेन्ट्रल लण्डनस्थित  रिजेन्ट्स पार्कमा आयोजित शीतकालीन च्यारिटी रनमा सहभागिता जनाएको  छ ।

कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका चिकित्सक, कूटनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत १० किलोमिटर र ५ किलोमिटर  दौड सम्पन्न भएको थियो। १० के   दौडमा डा. शबिन जोशी, डा. दिवाकर (देव) हमाल,  सोफी नेपाली, डा. सशक्ता थापा, नेपाली दूतावास लण्डनका सैनिक सहचारी मेजर जनरल अनुप शाह तथा  किर्स्टी चेम्बर्स सहभागी भए।

त्यसैगरी ५ के  दौडमा डा. प्रभाकर हमाल, डा. म्याथ्यु सिंह, निलय साह, डा. शम्भु शाह,  सेलिना जोशी र ओलम्पियन गौरिका सिंह सहभागी भएका थिए। ५ के  दौडमा डा. प्रभाकर हमालले तेस्रो स्थान हासिल गर्न सफल भए।


लण्डनमा बसोबास गर्ने  ओलम्पियन गौरिका सिंहको सहभागिताले कार्यक्रमको आकर्षण अझ बढाएको थियो।

एनडीए यूकेकी अध्यक्ष डा. आरती थापा र डा. देव हमालले सबै धावक, दाता तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे। उनीहरूले भने, “हाम्रा सबै दाताहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद। विशेषगरी डा. शबिन जोशीलाई विशेष धन्यवाद, जसले एक्लैले ७ हजार पाउण्डभन्दा बढी रकम संकलन गर्दै एनडीए यूकेका लागि ‘सुपर फन्डरेजर’ को भूमिका निर्वाह गर्नुभयो।”

उक्त दौडबाट गिफ्ट एड सहित १३,००० पौण्ड (झन्डै २५ लाख रुपियाँ) सहयोग संकलन भएको एनडीए युकेले जनाएको छ।  नेपालमा सहयोग गर्नका लागि बेलायतमा  आयोजित स्पोर्ट्स इभेन्टबाट संकलित रकममध्ये यो नै अहिले सम्मको सबै भन्दा बढी रकम भएको बताइएको छ।  

कार्यक्रमबाट संकलित रकम क्यान्सर केयर नेपाललाई प्रदान गरिनेछ, जुन नेपालमा पाठेघरको मुख (सर्भिकल)  क्यान्सरको प्रारम्भिक स्क्रिनिङ, अनुसन्धान, पहिचान तथा उपचारका लागि प्रयोग गरिने आयोजकहरूले जानकारी दिएका छन्।

क्यान्सर केयर नेपालकी संरक्षक तथा मानार्थ अध्यक्ष  मनीषा कोइरालाले भिडियो सन्देशमार्फत च्यारिटी रनको सफलताको शुभकामना व्यक्त गरेकी थिइन्। चर्चित अभिनेत्री कोइराला आफै पनि 'क्यान्सर सर्भाइभर' हुन्।