Aama Ghar

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता

Nepal UK

Nepal UK

Tue, 20 January 2026
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता

सिउल । गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।

अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।

१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको कार्यसमिति र बृहत एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङ नेतृत्वको कार्यसमितिबीच एक–अर्काको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ ।

दक्षिण कोरियामा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा लगाउने साझा उद्देश्यका साथ एकता प्रक्रिया अघि बढाइएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

सहमति अनुसार दुवै पक्षले एक–अर्काको नेतृत्व र अस्तित्वलाई स्वीकार गर्दै संस्थालाई एकढिक्का बनाएर लैजाने छन् भने सांगठनिक एकताका कामहरू अगाडि बढाउन दुवै पक्षबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ४–४ जना गरी कुल ८ सदस्यीय स्टेरिङ कमिटी गठन गरिनेछ ।

त्यसैगरी स्टेरिङ कमिटीको बैठकको अध्यक्षता दुवै पक्षका अध्यक्षले आलोपालो गर्ने सहमति पनि भएको छ । एकताको बाँकी प्रक्रिया र अन्य प्राविधिक कार्यविधिका लागि स्टेरिङ कमिटीले एनआरएनए केन्द्रिय सहजिकरण समितिसँग समन्वय गरी कार्यविधि तयार पार्ने सहमति भएको छ।

एकता सहमति पत्र हस्ताक्षर कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष जुनु गुरुङ, एनसीसी सहजीकरण एवं समन्वय समितिका सदस्य प्रकाश धमला र एनसीसी कोरियाका संरक्षक भीम गुरुङको उपस्थिति रहेको थियो ।

एकतासँगै दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीहरूमा देखिएको अन्योल चिर्दै संस्थालाई परोपकारी र सिर्जनशील बनाउने बाटो खुलेको विश्वास लिइएको छ । केन्द्रमा रहेका दुई समानान्तर समितिहरुका बीचमा एकता भएपछि मार्च १३–१५ मा केन्द्रीय महाधिवेशन आयोजना गरिएको छ भने त्यसअघि एनसीसीहरुको एकता प्रक्रिया पूरा गर्ने लक्ष्य लिइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।