Nepal UK
लन्डन - बेलायतस्थित नेपाली समुदायमा चर्चित मोर्गेज परामर्शदाता कम्पनी, ए स्टार मोर्गेजेज, ले यही बिहीबार (११ डिसेम्बर) मा एक वेबिनार आयोजना गर्न लागेको छ।
युकेको प्रपर्टी मार्केटमा भैरहेका परिवर्तनहरु, मोर्गेजेज, सम्पत्ती कर तथा घर धनीको अधिकारको बारेमा नेपाली समुदायलाई जानकारी गराउन उक्त वेबिनार आयोजना गर्न लागिएको ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक तथा वित्तीय सल्लाहकार मिन दर्लामीले बताए। उक्त वेबिनारमा चार्टर्ड ट्याक्स एडभाइजर लेखनाथ घिमिरे, मोर्गेज र प्रोटेक्शन सल्लाहकार कुमार गुरुङ, ए स्टार रियल एस्टेट्सका नारायण तिमिल्सिना, नर्थउड आशफोर्डका मिस्टर कोलिन तथा मिसेज पेसेंसले विविध विषयमा प्रस्तुति दिनेछन्। मोर्गेज र प्रोटेक्शन सल्लाहकार रमेश सराङ्गकोटीले कार्यक्रमको सहजीकरण गर्ने छन्।
"बेलायतमा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको संख्या बढ्दै गए संगै स्थायित्व र परिवारको भविष्यको लागि घर किन्ने कुरा प्राथमिकतामा पर्ने गरेको छ। त्यसैले हालै नियम कानुनमा भएका परिवर्तनहरु र तिनबाट पर्नसक्ने असरबारे हाम्रो समुदायलाई सुसूचित गर्न यो वेबिनार आयोजना गर्न लागिएको हो," वेबिनारका सहजकर्ता रमेश सराङ्गकोटीले भने।
बिहीबार बेलुका ७:३० बजे जुम मार्फत आयोजना गरिने वेबिनारमा सहभागी हुन आयोजकले आग्रह गरेका छन्। सहभागीहरुले आफ्ना कुनै जिज्ञासा भए विशेषज्ञहरुलाई प्रश्न पनि सोध्न सकिने जनाइएको छ।