NU
Sat, 12 July 2025
नेपालले यस प्रतिष्ठित डेभिस कपको ग्रुप ४ प्रतिस्पर्धामा आफ्नो चुनौती प्रस्तुत गर्नेछ। टोलीमा नेपालका शीर्ष वरीयताका युवा तथा प्रतिभाशाली खेलाडीहरू प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घले सामेल छन्। यी खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। टोलीलाई कुशल मार्गदर्शन प्रदान गर्न जितेन्द्र परियार प्रशिक्षकको भूमिकामा रहेका छन् भने अनुभवी जयजीव हाडा ले टोली व्यवस्थापकको जिम्मेवारी सम्हालेका छन्।
यो समूह ४ को प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी कूल ८ राष्ट्रले भाग लिँदैछन्। यी राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरी 'राउन्ड-रोबिन' प्रणालीमा प्रतिस्पर्धा गराइनेछ। समूह चरणका खेलहरू पछि उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले माथिल्लो समूहमा उक्लने अवसर पाउनेछन्। डेभिस कपमा नेपालको सहभागिताले नेपाली टेनिसको स्तरवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने र युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
शुक्रबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा टोलीलाई भव्यताका साथ बिदाइ गरिएको थियो। बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ (तदर्थ समिति) का संयोजक मनोहरदास मुललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उहाँहरूले खेलाडीहरूलाई राष्ट्रको प्रतिनिधित्व गरेकोमा गर्व व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो। मन्त्री चौधरीले खेलाडीहरूको मनोबल उच्च राख्न राज्य सधैं तत्पर रहेको बताउँदै, यस प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाली टोलीले यस प्रतियोगिताका लागि विगत केही महिनादेखि निरन्तर प्रशिक्षण गरिरहेको थियो। खेलाडीहरू शारीरिक र मानसिक रूपमा पूर्णतः तयार रहेको र उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रने विश्वास गरिएको छ।
डेभिस कपमा नेपालको सहभागिताले देशमा टेनिस खेलको लोकप्रियता बढाउनुका साथै नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।