Nepal UK
लण्डन, बेलायत – अठार महापुराणका प्रखर वक्ता तथा चर्चित कथावाचक पण्डित कुबेर सुवेदी बेलायत आइपुगेका छन्। उहाँ यही अगस्ट १२ देखि १८ तारिखसम्म आयोजना हुने श्रीमद्भागवत कथा सप्ताहमा सहभागी हुन सोमवार साँझ लण्डनको हिथ्रो विमानस्थलमा ओर्लेका हुन्।
हिथ्रोस्थित टर्मिनल ४ मा अवतरण गर्दा पण्डित सुवेदीलाई पण्डितद्वय चिरञ्जीवी ढकाल, नीलहरी घिमिरे तथा बेलायतवासी भक्तजनहरूले भव्य स्वागत गरेका थिए। उहाँ श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर बेलायतमा यो आध्यात्मिक कार्यक्रममा सहभागी हुन आउनुभएको हो।
धर्मदर्शन फाउन्डेसन नेपाल र बेलायतमा बस्ने भक्तजनहरूको सक्रिय पहलमा यो श्रीमद्भागवत कथा सप्ताह साउथलस्थित विश्व हिन्दू मन्दिरमा आयोजना हुँदैछ। कार्यक्रम हरेक दिन साँझ ४ बजेदेखि सुरु भई एक हप्तासम्म चल्नेछ।
अन्तर्राष्ट्रिय कथावाचकका रूपमा परिचित पण्डित सुवेदीले नेपालमा, विशेषगरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आउनुभएको छ। धर्मदर्शन युट्युब च्यानलमार्फत विश्वभरि धार्मिक जागरण, भक्ति-ज्ञान र आध्यात्मिक कथा प्रवचन दिँदै आएका सुवेदीले बेलायतमा पनि कथा, प्रवचन र भजन-कीर्तनका कार्यक्रमहरूमा सहभागी हुनेछन्।
आयोजक धर्मदर्शन फाउन्डेसनले बेलायतमा बस्ने सम्पूर्ण नेपालीहरूलाई तन, मन र धनले सहयोग गर्नका साथै कथा सुन्न र प्रसाद ग्रहण गर्नका लागि परिवारसहित कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।
यो आध्यात्मिक यात्राले बेलायतमा नेपाली समुदायबीच भक्ति र ज्ञानको सन्देश फैलाउने अपेक्षा गरिएको छ।