Nepal UK
काठमाडौँ । आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा एनआईसी एशिया बैंकले लिलाम गरेपछि एक ऋणीले आत्महत्याको प्रयास गरेको छन् । इटहरी आइतबारेका लालबहादुर पौडेलले बैंकको निर्णयबाट आफू अन्यायमा परेको भन्दै इटहरीस्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयमै शरीरमा पेट्रोल छर्किएर आत्मदहाको प्रयास गरेका हुन् ।
घटनाका अनुसार पौडेल बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए । बैंकभित्र प्रवेश गरेपछि उनले आफ्नो शरीरमा पेट्रोल छर्किन खोजेपछि त्यहाँ होहल्ला मच्चिएको थियो । बैंकका कर्मचारी, सुरक्षागार्ड र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका केही सदस्यले उनलाई तत्काल नियन्त्रणमा लिएर जोगाएका थिए । घटनाको भिडियो खिच्न केही क्यामराम्यान समेत बैंक परिसरमा पुगेको देखिएको भन्दै बैंक पक्षले यसलाई योजनाबद्ध बदनाम अभियानको रूपमा व्याख्या गरेको छ ।
पौडेलले भने आफू अत्यन्तै तनावमा पुगेपछि यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । उनका अनुसार उनले इटहरीमा रहेको आफ्नो करोडौँ मूल्यको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएका थिए । झापामा मदिरा फ्याक्ट्री सञ्चालन गर्ने उद्देश्यले साहले पौडेलसँग ब्याज दिने सहमतिमा जग्गा धितो मागेको र त्यसैका आधारमा साढे दुई करोड रुपैयाँ बराबरको ऋण निकालिएको थियो । तर, साहले न त ब्याज नै दिए, न त बैंकमा किस्ता बुझाए । लामो समयसम्म किस्ता नआएपछि बैंकले धितोमा राखिएको जग्गा लिलाम प्रक्रिया अघि बढाएको हो ।
पौडेलका अनुसार उनले सावा तिर्ने तयारीका लागि केही समय माग गर्दै आएका थिए । तर, बैंकले उनको आग्रह नसुनी एकतर्फी रूपमा जग्गा लिलाम गरेको भन्दै उनी आक्रोशित बने । आफ्नै कमजोरीभन्दा बढी शाहको लापरबाही र बैंकको कठोर निर्णयले आफूलाई सडकमा ल्याउने अवस्थामा पु-याएको महसुस भएपछि उनले आत्मदहाको प्रयास गरेको बुझिएको छ । उनले बैंकले आफ्नो वास्तविक पीडा नबुझी केवल कानुनी प्रक्रिया मात्रै हेरेको आरोप समेत लगाएका छन् ।
निरन्तर यस्ता घटना बढ्दै गएको अवस्थामा बैंक वित्तीय संस्था माथि भने प्रश्न उब्जिन थालेको छ । एउटा ऋणीले बैंक भित्रै गएर आत्हदहाको प्रयास गर्दा बैंक वित्तीय संस्थाले यसलाई गम्भीर रुपमा लिनु पर्दैन ? ऋण लगेपछि ऋण तिर्नु पर्छ । तर, बैंकले ऋणीमा परेको समस्यालाई लिएर थोरै भएपनि मानवता देखाउनु पर्छ कि पर्दैन ? यी यस्तै प्रश्न पछिल्लो समय सर्वसाधारण स्तरबाट उठ्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि यसमा गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ ।