NU
Sun, 29 June 2025
ब्रसेल्स - बेल्जियमको आन्त्रोपेन सहरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन सम्पन्न भएको छ ।
बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्य र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको विशेष आतिथ्यमा उद्घाटन भएको उक्त सम्मेलन ११ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा चलेको उद्घाटन सत्रमा अनेसास बोर्ड अफ ट्रष्टी (बीओटी) का सभापति पदम विश्वकर्मा लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए । अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माई र बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले उक्त सत्र सञ्चालन गरेका थिए।
कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोबर्धन पूजा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्षद्वय डिल्लीराम अम्माई र सुदिपभद्र खनाल लगायत संसारभरिका अनेसास नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अनेसास केन्द्रको तर्फबाट वरिष्ठ साहित्यकार तथा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले शुभकामना मन्तव्य दिएका थिए भने अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले स्वागत गरे ।
सम्मेलनको पहिलो दिन अनेसास युरोपका सह-संयोजक पंचम अधिकारीले अनलाइन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरे, जसमा गोबर्धन पूजा प्रथम र सुरेन उप्रेती दोश्रो भए । त्यसपछि विभिन्न कविहरूले कविता वाचन गरे भने गायकहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
दोश्रो दिनको कार्यक्रममा अनेसास क्यानडाका संस्थापक अध्यक्ष सुरेन उप्रेतीलाई ‘अनेसास हिरो’ घोषणा गरियो । सम्मेलनले अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राईलाई पनि विशेष सम्मान गरेको थियो । कार्यक्रमको तेश्रो चरणमा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीद्वारा लिखित ‘युरोपका नेपाली स्रष्टा’, उपाध्यक्ष डिल्ली अम्माईको ‘निरपेक्ष अस्तित्वको खोज’ लगायतका साहित्यकारहरूका पुस्तक विमोचन गरियो ।
कार्यक्रमको चौथो चरणमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, फ्रान्स, नर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन, पोल्यान्डलगायत शाखा अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
अन्त्यमा, ‘भारतमा नेपाली साहित्य, आधुनिक वैश्विक लेखकीय धार तथा लिला लेखन’ विषयमा प्राज्ञ डा. प्राध्यापकद्वय कविता लामा, प्रध्यापक पुष्पा शर्मा र साहित्यकार नारायण अधिकारीले बहस गरेका थिए, जसको सहजीकरण प्राध्यापक उषा शर्माले गरेकी थिइन् ।
Image credit: https://www.ratopati.com/story/497828/anesas-world-chapter-conference-grand-conclusion-with-issuance-of-11-point-declaration