Nepal UK
लन्डन । बेलायतमा क्रियाशील नेपाली तथा बेलायती व्यवसायीहरूको साझा संस्था ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्स (BNCC) को नयाँ अध्यक्षमा ट्राभल व्यवसायी बिराज भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्।
शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासमा सम्पन्न संस्थाको वार्षिक साधारणसभाले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। भट्ट यसअघि संस्थाको उपाध्यक्षका रूपमा कार्यरत थिए।
नयाँ कार्यसमितिको उपाध्यक्षमा इन्द्र गिरी र कमल पौडेल, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स, अन्जनी फुंयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चयन भएका छन्। संस्थाको सिइओमा स्टिभ बक्ले नियुक्त भएका छन्।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै भट्टले बेलायतबाट नेपालमा लगानी भित्र्याउने, ट्राभल तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउने तथा विभिन्न ट्रेड डेलिगेशनमार्फत लगानीका नयाँ सम्भावनाहरू पहिचान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बीएनसीसी संरक्षक तथा कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै निवर्तमान कार्यसमितिको योगदानप्रति आभार व्यक्त गरे। उनले बेलायत र नेपालबीचको व्यापार सम्बन्धबारे तथ्यांक प्रस्तुत गर्दै सन् २०१९ मा दुई देशबीचको कुल व्यापार ६०९ मिलियन पाउण्ड पुगेको जानकारी दिए।
उनका अनुसार पछिल्ला वर्षहरूमा व्यापारको परिमाण घट्दै आए पनि सन् २०२५ को पहिलो ६ महिनामा बेलायतबाट नेपाल ६८ मिलियन पाउण्ड बराबरको निर्यात तथा नेपालबाट बेलायत १८२ मिलियन पाउण्ड बराबरको आयात भएको छ।
कार्यवाहक राजदूत दुवाडीले नेपाल वैदेशिक लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै दूतावासले बीएनसीसीसँग सहकार्य गर्दै लगानी प्रवर्द्धनका पहलहरू अघि बढाइरहेको बताए। साथै, बेलायतस्थित नेपाली डायस्पोराले व्यापार र लगानीमार्फत नेपालको समृद्धिमा योगदान दिनु कर्तव्य भएको धारणा व्यक्त गरे।