Aama Ghar

बेलायतमा युवाहरुमा लागू औषध दुरुपयोग बढ्दै

Nepal UK

Nepal UK

Wed, 24 December 2025
बेलायतमा युवाहरुमा लागू औषध दुरुपयोग बढ्दै

लन्डन । बेलायतमा लागूऔषध प्रयोगको अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको देखिएको छ ।

 क्राइम सर्भे फर इंगल्याण्डको पछिल्लो तथ्यांक अनुसार १५ देखि ५९ वर्ष उमेर समूहका ८.७ प्रतिशत (झन्डै २९ लाख) नागरिकले पछिल्लो १२ महिनामा कुनै न कुनै प्रकारको लागूऔषध प्रयोग गरेको पाइएको छ ।

त्यस्तै, मिनी नेपाल भनेर चिनिने अल्डरसटमा पनि धेरै युवाहरुको संख्या बढे संगै लागूऔषधको प्रयोग बढदै गइरहेको छ । रोजगारी,शिक्षा  र विभिन्न कारण धेरै युवाहरु बेलायत भित्रिने संख्या बढेको छ । त्यससंगै धेरै  युवाहरु पछिल्लो समय लागू औषधमा लाग्न थालेको पाइएको अल्डरसटको वेलिंग्टन वार्डबाट काउन्सिलर पदका उम्मेदवार डा विशाल गुरुङले बताए ।

 नेपालयुके डटकमसंगको कुराकानी गर्दै डा गुरुङले  नेपाली समुदायका युवाहरूमा  अनलाइन तथा क्यासिनो ग्याम्बलिङ तथा  लागू औषध प्रयोग गर्ने समस्या बढ्दै बताए । उनले तमु धिं युके लगायतक संस्थाले  धेरै युवायुवतीलाई लागूऔषधको लतबाट हटाउन अहम् भूमिका खेलिरहेको पनि जनाए । उनले आफु निर्वाचित भएमा काउन्सिल स्तरबाट थप कार्यक्रम ल्याउने योजना रहेको पनि जिकिर गरे  ।

अल्डरसटमा मात्र नभएर बेलायतका विभिन्न शहरहरुमा कुलतमा फस्ने नेपाली युवाहरुको संख्या बढदै जान थालेकोप्रति एनआरएनए युकेका अध्यक्ष  राजेन्द्र  पुडासैनीले चिन्ता व्यक्त गरे । उनले नेपाली विद्यार्थी लगायत कतिपय  युवा परिवारसँग सम्पर्कमा पनि नआउने र परिवारको अनुरोधमा खोजि गर्दा कुलतमा फसेर बेवारिस अवस्थामा फेला परेका पनि बताए  । उनले सबै नेपाली युवाहरुलाई अध्ययन र काममा ध्यान दिन अनुरोध पनि गरे  ।


लागूऔषध प्रयोगको कारण मृत्यु

स्कटल्यान्डमा लागूऔषध प्रयोगका कारण भएको मृत्युका घटना सन्  २०२५ मा करिब २० प्रतिशतले वृद्धि भएको छ । जहाँ २९१ वटा शंकास्पद मृत्यु घटना दर्ता भएका छन्। ।  विशेषज्ञहरूका अनुसार यी तथ्यांकहरूले बेलायतमा लागूऔषध नियन्त्रण, युवामुखी मानसिक स्वास्थ्य कार्यक्रम र रोकथाम अभियानलाई थप सशक्त बनाउनु आवश्यक रहेको देखेका छन्  । यदि समयमै प्रभावकारी नीति र जनचेतना कार्यक्रम लागू गरिएन भने आगामी वर्षहरूमा यसको सामाजिक र स्वास्थ्यमा पर्ने  नकारात्मक  प्रभाव अझ गम्भीर बन्न सक्ने देखिएको छ ।