Aama Ghar

बेलायतमा  वर्क परमिटका नाममा ठगीमा परेका पीडितलाई सम्पर्क गर्न दूतावासले गर्यो अनुरोध

Nepal UK

Nepal UK

Mon, 05 January 2026
बेलायतमा  वर्क परमिटका नाममा ठगीमा परेका पीडितलाई सम्पर्क गर्न दूतावासले गर्यो अनुरोध

लन्डन -  बेलायतमा 'वर्क परमिट' दिलाइदिने नाममा नेपालीहरुबाटै नेपाली ठगिने क्रम बढेपछि लन्डनस्थित नेपाली दूतावासले चासो व्यक्त गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पन्सरसीप खोजिदिने बहानामा उल्लेख्य नेपालीहरु ठगीमा परेका गुनासा दूतावासमा प्राप्त भएको जनाउंदै ठगीबाट बच्न सचेत रहन अपिल गरेको छ।

दूतावासले जनाए अनुसार ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य ( यूके) आउन चाहनेहरु छन् भने कतिपय यूकेमै रहंदै आएका नेपाली समेत छन् ।

‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसंगको सम्पर्कमा पुगी ठगीमा परेको गुनासो पनि आएको छ’, राजदूतावासले सूचनामा भनेको छ, ‘यस किसिमको संगठित अपराधमा धेरै व्यक्तिहरु प्रत्यक्ष परोक्ष रुपमा संलग्न रहने, उनीहरुले आफ्नो सक्कल पहिचान लुकाउने र फरक नामबाट आफूलाई चिनाउने, घर-बासस्थानको ठेगाना नदिने-नखुलाउने, सम्पर्क नम्बरहरु परिवर्तन गरिरहने र रकम ठगी गरि सम्पर्कविहीन हुने गर्दछन् ।’

दूतावासले त्यस्ता व्यक्तिले यूकेको कानूनी कारवाहीबाट बच्न र ठगीको प्रमाण नछोड्नका लागि नेपालमा नै रकम असुल गर्ने र यूकेमा पनि बैंकमार्फत कारोबार गर्ने नगरेको भेटिएको जनाएको छ ।

यस्ता किसिमका अपराधहरु नेपाल र संयुक्त अधिराज्य दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा यूकेमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासले  सुझाव दिएको छ ।

समस्यामा परेका नेपालीलाई दूतावासको इमेल info@nepembassy.org.uk वा +44-7404939274 मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।


बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पछिल्लो समय यस्ता ठगीबारे धेरै गुनासो लन्डनस्थित नेपाली दूतावासलाई प्राप्त भएको बताए । आवश्यक परे ठगहरुको सूची नै सार्वजनिक गरेर उनीहरुमाथि कारबाहीका लागि पहल गर्न समेत दूतावास तयार रहेको उनले जनाए ।

कार्यवाहक राजदूत दुवाडीले पीडितहरुलाई प्रमाणसहित आउन अपिल गर्दै आवश्यक अनुसन्धान र कारबाहीका लागि दूतावासले सक्दो सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

https://uk.nepalembassy.gov.np/content/70/notice-31-12-2025/